कांग्रेसमा अब १० लाख क्रियाशील सदस्य, रमेश लेखकको संयोजकत्वमा छानविन समिति बनाउने तयारी



काठमाडौं : नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ । बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो ।

देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन् ।

अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन् । अब पाँच लाख क्रियाशील सदस्य थपिनेछन् । पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन् ।

‘छिट्टै केन्द्रीय समिति बैठक बसेर औपचारिक निर्णय हुनेछ’, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने । पार्टीका पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक बसेको हो ।

विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने र पार्टी समायोजनका साथै सदस्यता लिन चाहनेको संख्या धेरै भएपछि तल्लो तहबाटै क्रियाशील सदस्यता थप गर्नुपर्ने दबाब आएको हो ।

यसअघि पार्टी संस्थापन पक्षले क्रियाशील सदस्यता दोब्बर बनाउनुपर्ने प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएको थियो । त्यसपछि यसअघि ५० प्रतिशत मात्र थप्न सकिने भनिएको थियो ।

१३ औं महाधिवेशन हुँदा कांग्रेसमा ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य थिए । नयाँ सहमतिअनुसार यो संख्या १० लाख पुग्न सक्ने नेताहरु बताउँछन् ।

‘हरेक ठाउँमा १०० प्रतिशत थपिन्छ भन्ने छैन । यो अधितकम सीमा मात्र हो’ महतले भने, ‘पार्टी एकतामा आएकाहरुलाई दिइने क्रियाशील सदस्य जोड्दा हाल कायम रहेको संख्या दोब्बर भने हुनसक्छ ।’

यस्तै अन्य पार्टीबाट कांग्रेसमा आएकाहरुलाई केन्द्रले दिने कि वडा तहबाट सिफारिस गर्ने भन्ने बहस छ ।

संस्थापन पक्ष केन्द्रबाट दिन चाहन्छ, तर रामचन्द्र पौडेल पक्षले वडा तहबाट सिफारिस भएर आएपछि मात्र केन्द्रले दिनुपर्ने मत राखेका छन् ।

यस्तै क्रियाशील सदस्यता शतप्रतिशत बढाउन स्थापन र इतर पक्ष सहमत भए पनि संक्रियाशील सदस्यता छानबिन समिति गठनमा विवाद देखिएको छ ।

गत फागुनमा नेताहरुबीच नरहरि आचार्यको संयोजकत्वमा ७ सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने सहमति भएको थियो ।

यसका लागि संस्थापनबाट ३, पौडेल समूहबाट दुई र सिटौला समूहबाट एक जना राख्ने सदस्य राख्ने सहति पनि भएको थियो ।

तर स्वास्थ्यका कारण नेता आचार्यले समितिमा बसेर संयोजन गर्न असमर्थ रहने बताएपछि उनको विकल्पको खोजी भइरहेको छ ।

सभापति देउवाले आचार्य नेतृत्वको समितिमा बसेर काम गरिसकेका रमेश लेखकलाई संयोजक बनाउने प्रस्ताव राखेका छन् । तर पौडेल र सिटौलाले सहमत हुन सकेका छैनन् । यद्यपि समितिको संयोजक लेखक नै बन्ने काँग्रेस स्रोत बताउँछ ।

विगतमा काम गरेका अनुभव र समन्वयकारी स्वभावका लेखक नै समिति संयोजकको उपयुक्त पात्र भएको संस्थापन पक्षको बुझाइ छ । अहिले केही असहमत देखिए पनि इत पक्षलाई लेखकलाई संयोजक बनाउन सहमत हुने संस्थापन पक्षको बुझाइ छ ।

यसबारे अब केन्द्रीय कार्यसमितिमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्