मास्क नलगाई हिँडडुल गर्नेबाट उठ्यो ३४ हजार राजश्व



बैतडी : जिल्लामा मास्क नलगाई हिँड्नेसँग एक सय रुपैयाँ जरिवाना लिन थालिएपछि गत असार २३ गतेदेखि हालसम्म ३४ हजार राजश्व संकलन भएको छ ।

लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि बैतडीमा मास्क लगाउन अनिवार्य गरिएको छ । तर, मानिसहरुमा बिना मास्क बाहिर हिँडडुल गर्न थालेपछि जिल्ला प्रशासनले १ सय रुपैयाँ जरिवाना लिन थालेको हो ।

गत असार २३ गतेदेखि हालसम्म मास्क नलगाउने ३ सय ४१ जनालाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरुबाट जरिवाना स्वरुप ३४ हजार १ एक सय रुपैयाँ संकलन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

लकडाउन खुले पनि देशभर कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय बैतडीले कडाइ गरेको हो ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुरुप न्यूनतम दुई मिटरको भौतिक दूरी कायम गर्न, सार्वजनिक स्थलमा हिँडडुुल गर्दा मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न सचेत गराइएको छ । अवज्ञा गर्ने नागरिकलाई संक्रमण रोग ऐन २०२० अनुसार जरिवाना गरिएको जनाइएको छ ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्