सिरहाका कोरोना संक्रमित युवकको मृत्यु



सिरहा : नेपालमा कोरोना संक्रमणबाट थप एक युवकको मृत्यु भएको छ । गत तीन वर्षदेखि किडनीका बिरामी रहेका सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाका २३ वर्षीय युवकको बिहीबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए।

नियमित डायलासिसका लागि चार दिनअघि प्रादेशिक अस्पताल जनकपुर आएका ति युवकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको र बुधबार उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोरोना विशेष अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

कोरोना विशेष अस्पालका संयोजक डा. जामुन प्रसाद सिंहले किडनीको नियमित डायलासिस गराउँदै आएका सात जना बिरामीमा कोरोना पोजेटिभ पुष्टि भएको बताए । उनले भने–‘ति युवकलाई हामिले बिहीबार डायलासिसका लागि एम्बुलेन्स मार्फत यहाँबाट धरान पठाइएका थियौं । तर, त्यहाँ डायलासिस भएपछि उनको स्वास्थ्य अवस्था झन बिग्रिँदै गयो र उपचारकै क्रममा आईसियुमै उनको मृत्यु भयो ।’

मृतकको शव धरानबाट सिरहा ल्याउने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्