पर्सामा ४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना पुष्टि



वीरगञ्ज : वीरगञ्जमा ४३ थुनुवासहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवासहित १ सय ४२ जनामा कोरोना पुष्टि भएको हो ।

वीरगञ्जका मेयर विजयकुमार सरावगीको परिवारका थप तीन जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार थपिएका संक्रमितमा २२ जना महिला छन् ।

यसैगरी संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार पत्ता लागेका संक्रमितमध्ये २८ जना वीरगन्ज महानगरपालिका–२८ सिर्सिया, खल्वा टोलाका हुन् । गत साउन १८ मा महानगरपालिकाले उक्त वडामा ‘मास ट्रेसिङ’ गरी स्वाब संकलन गरेको थियो ।

वीरगञ्ज–१० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ । १० संक्रमित वीरगञ्जको श्रीपुर र मर्लीका बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले विभिन्न मितिमा पक्राउ परेका थुनुवा र प्रहरीको स्वाब संकलन गर्दा ४३ जना थुनवा र एक प्रहरीमा संक्रमण पुष्टि भएको बताए ।

पर्सामा अहिलेसम्म कूल संक्रमितको संख्या ९ सय ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए। पर्सामा कोरोना संक्रमणका कारण अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ। साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको हो ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्