राति सवारी साधन चलाउन रोक



नवलपरासी : नवलपरासी जिल्लास्थित बर्दघाट–सुस्ता पश्चिममा आजदेखि रातको सयममा सवारी चलाउन रोक लगाइएको छ । जिल्लाको पूर्व पश्चिम राजमार्ग तथा भुमही–भैरहवा सडकखण्डबाहेक अन्य क्षेत्रमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण यात्रुबाहक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आजदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म अन्य आवश्यक सवारी साधनबाहेक अन्य सवारी साधनको आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । कोरोना भाइरस फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको पाठकले बताए ।

यसैगरी नेपाल–भारत सीमानाकामा गस्ती बढाई अनधिकृत रुपमा हुनसक्ने आवागमनलाई थप कडाइका साथ नियन्त्रण प्रशासनले जनाएको छ । खुला सिमानाका कारण भारतबाट लुकीछिपी आवतजवात भइरहेको छ जसका कारण थप सङ्क्रमणको जोखिम बढेको छ ।

जिल्लामा रहेका सैलुन, ब्यूटीपार्लर बन्द गराउनुका साथै होटल रेष्टुराँमा हुने सामूहिक भोज, पार्टी, गोष्ठी वा अन्य सामूहिकरुपमा हुने भेला पूर्णरुपमा निषेध गरिएको छ । १२ वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका व्यक्ति तथा दीर्घरोगीलाई कोरोना भाइरसको जोखिम उच्च रहेकाले घरबाट ननिस्कन आग्रह गरिएको छ भने अत्यावश्यक कार्यका लागि बाहिर निस्किन परे स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्नुपर्ने प्रशासन कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गराउनका लागि सम्बन्धित सबै निकाय र स्थानीय तहहरुबीच समन्वय गर्न निर्देशन दिइएको छ । साथै मास्क लगाउन प्रेरित गर्ने तथा सदरमुकाम प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा निकाय र स्थानीय तहहरुको समन्वयमा सचेतना अभिवृद्धि गराउनेसमेत निर्णय गरिएको छ । सचेत गराउँदासमेत स्वास्थ्य, सुरक्षाको मापदण्ड उल्लङ्घन गरे जो कोहीलाई पनि जरिवाना गरी सङ्क्रमण रोग ऐनअनुसार कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्