सिमरामा उड्ने भयो ७२ सिट क्षमताको विमान



काठमाडौं : बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२–५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार जहाज सिमरा गएको हो ।

बुद्ध एयरको उक्त जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरेको हो ।

कम्पनीका अनुसार जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको छ । यसअघि बद्धका एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान गरेका थिए ।

लकडाउन हुनु अघि दैनिक ७–९ वटा कार्यतालिबाट नियमित उडान गर्दै आएको कम्पनीले भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर–७२ ले उडान गर्ने योजना बनाएको जानकारी गराएको छ ।

भदौ १ बाट हुने उडानका लागि बद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरेको समेत जानकारी दिएको छ । यात्रुको दोहोरो तापक्रम चेकजाँच, हृयाण्ड सेनिटाइज, फेसमास्क र फेससिल्डको अनिवार्य प्रयोग लागू गरेको छ ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्