ब्राहुनका छोरा लिम्बू भाषाका शिक्षक



इलाम : इलाम माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा)लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । “साँची तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ ?”, प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही झसक्क झस्किन्छन्, कोही एकोहोरो उनलाई हेर्छन् । कोही भने ‘यस्तो पनि हुन्छ र भनेर’ उल्टो प्रतिप्रश्न तेस्र्याउँछन् । कसैले भने, ‘यो भाषा पढ्नुको साटो विदेशी भाषा पढेको भए हुन्थ्यो नि’ भन्दै सुझाव दिन्छन् । उकाचा यस्ता प्रश्नको सामाना गर्न तयार छन् ।

उनीमाथि बारम्बार प्रश्न आउनुका कारण उकाचा सोयाङकै पूर्णज्योति माध्यमिक विद्यालयको लिम्बू (याक्थुनपान) भाषाको कुनै बेला शिक्षक थिए । अहिले उकाचाले भाषा पढाउन छाडेको दुई वर्ष भयो तर आफ्नो परिचय लिम्बू भाषाको शिक्षक भनेरै दिन रुचाउँछन् र चिन्नेले पनि उकाचालाई यही परिचयले चिन्छन् ।

अहिले उकाचा त्यही विद्यालयमा अङ्ग्रेजी विषय पढाए पनि लिम्बू समुदायले पनि भाषाका बारेमा प्रश्न सोध्न उकाचाकै आउँछन् । किनकि उकाचा लिम्बू भाषामा ‘पोख्त’ छन् ।

यसरी सिके उकाचाले लिम्बू भाषा 

उकाचा लिम्बू जातको बाहुल्य रहेको गाउँमा हुर्के । त्यसैले लिम्बू भाषा सिक्न टाढा जानुपरेन । सानै उमेरदेखि नै लिम्बू भाषा सिक्नुपर्छ भन्ने थियो भाषा सिक्न निकै मिहेनत गर्नुपर्यो । सँगै बसेका साथीभाइले गरेको संवाद बुझे पनि फर्काउन नजान्दा मन खिन्न हुन्थ्यो । तिनै साथीभाइको सङ्गत र उनीहरुसँगको भाषा अभ्यासले उकाचालाई पनि ‘लिम्बू भाषी’ बनायो ।

“१०÷११ वर्षकै उमेरमा भाषा त बुझ्थे तर फर्काउन सक्दिनथे”, उकाचाले विगत सम्झे, “सँगै बस्दा उनीहरुको कुरा बुझ्ने तर फर्काउन नआउँदा कस्तो कस्तो लाग्थ्यो, मलाई के भन्ठान्लान् जस्तो लाग्थ्यो ।” त्यही क्रममा उनले लिम्बू भाषामा बात फर्काउनसमेत सिके । उकाचा भाषा बोल्न मात्रै होइन लिपीमा पनि पोख्त हुनाका कारण अलि बेग्लै छ । जब ०६२÷६३ को आन्दोलनपछि भाषा र संस्कृतिका विषय साह्रै धेरै उठेर आयो । आ–आफ्ना भाषा, धर्म र संस्कृति जोगाउनका लागि भन्दै गाउँगाउँबाटै आवाज उठ्न थाले ।

उकाचाकै गाउँमा पनि यसको प्रभाव पर्यो । भाषा जोगाउनका लागि आवाज उठ्दै गर्दा उकाचालाई चाहिँ भाषा भनेको जाति विशेषको मात्रै होइन सबैको हो भन्ने लग्यो । “हाम्रो भाषा मासिने भयो भनेर चिन्तामा हुँदा मलाई भाषा त सबैको हो नि जस्तो लाग्थ्यो”, उनले भने ।

यही परिवेशले उकाचालाई भाषाको ‘भोक’ले समात्यो । उनी भाषा बोलेर मात्रै बच्दैन लिपि पनि जान्नुपर्छ भन्ने चेत खुलेपछि लिपि सिक्नका लागि घरबाट निस्नुके । “धेरैतिर खोजे लिपि पढाउने विद्यालय भेटिन, इलाम नगरपालिकाकै बिब्ल्याँटेमा चाहिँ एक जनासँग सिकेँ”, उकाचाले भने । भाषा बोल्न जानेका उनलाई लिपि सिक्न आफूले सोचेजस्तो गाह्रो भएन । लिपि जानेपछि उनी गाउँ फर्के । गाउँ फर्किएर लिम्बू भाषा जानेकैलाई लिपिका बारेमा बुझ्दा धेरैलाई लिपिको भने ज्ञान नभएको पाए । “मैले भाषा बोल्ने केहीलाई लिपिका बारेमा सोधें तर थाहा रहेनछ”, उकाचाले सुनाए, “कतिपय शब्दको अर्थसमेत थाहा नभएको पाएँ ।”

उकाचाका बुबा पण्डित भए पनि छरछिमेको सङ्गतले उनलाई पनि भाषाको धेरथोर ज्ञान थियो । परिवारका सबै सदस्यले लिम्बू भाषा जानकार भएकाले उनले विद्यालयमा पढाउन जान अप्ठ्यारो पर्ने कुरा रहेन । यता विद्यालयमा बहुसङ्ख्यक विद्यार्थी लिम्बू समुदायका भएकाले भाषा पढाउन माग बढ्न थाल्यो । पढाउनका लागि लिपिसमेत जान्ने व्यक्ति आवश्यक पर्ने भएकाले विद्यालयको पहिलो रोजाइमा उकाचा नै परे । उनले कक्षा ५ सम्म लिम्बू भाषा पढाउँछन् । “अन्य शिक्षकशिक्षिककाले भन्दा फरक तरिकाले म भाषा पढाउँछु, विद्यार्थी पनि पढ्न झुम्मिन्छन्”, उकाचाले भने, “गीतको शैलीमा लिपि घोकाउने गरेको छुँ ।”

भाषा जाने पनि आफ्नो मातृभाषा अर्कै भएकाले बोल्ने ‘टोन’ भने भिन्न भएकाले पढाउन गाह्रो भएको उनको भनाइ छ । संस्कृति र धर्म एउटा जात विशेषको मात्र हुँदैन भन्ने बुझेका उकाचा लिम्बू भाषा पढाउन पाएकामा गर्व महसुस हुने गरेको बताउँछन् । अरूले ‘ब्राह्मणको छोरो भाषा पढाउने’ भन्दै कुरा गरे पनि आफूलाई समस्या नहुने गरेको उकाचा सुनाउँछन् । (रासस)

प्रतिक्रिया दिनुहोस्