लोमान्थाङमा प्याराग्लाइडिङ उडानको सफल परीक्षण



म्याग्दी : हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा विश्वमै दुर्लभ देखिने हिमाल माथि  प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । साहसिक खेल प्याराग्लाइडिङको सम्भाव्यता अध्ययनका लागि लोमान्थाङ पुगेको स्याङ्जास्थित बाबु एडभेन्चर क्लबको टोलीले ३ दिनसम्म परीक्षण उडान गरेको हो । 

टोलीले लोमान्थाङ–१ र ४ का ६ स्थानमा परीक्षण उडान गरेको क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए । परीक्षणमा अध्यक्ष केसी, प्याराग्लाइडिङका विश्व कीर्तिमानी सानुबाबु सुनुवार र कृष्ण केसी सहभागी थिए । 

परीक्षण उडान सफल भएपछि ती स्थान प्याराग्लाइडिङका लागि उपयुक्त रहेको निष्कर्ष निकालिएको अध्यक्ष केसीले जानकारी दिए । ‘मुस्ताङ आफैमा विश्वभर परिचित पर्यटकीय स्थल हो । त्यसमाथि प्याराग्लाइडिङ मार्फत हिमालमाथि उड्न पाउनु विश्वमै दुर्लभ अवसर हो,’ उनले भने, ‘यसबाट मुस्ताङको पर्यटनमा नयाँ आयाम थपिने विश्वास छ ।’

अर्का सञ्चालक तथा प्याराग्लाइडिङका विश्व कीर्तिमानी सुनुवारका अनुसार ५ हजार मिटरभन्दा माथिसम्म हिमालको काखमा चिसो हावासँगै गरिने प्याराग्लाइडिङको अनुभव विश्वमै दुर्लभ हो । ‘यसको व्याख्या होइन, अनुभव मात्र गर्न सकिन्छ,’ उनले भने । लोमान्थाङमा व्यावसायिक प्याराग्लाइडिङको सम्भावना रहेको र त्यसबाट नेपाली पर्यटन उद्योगले ठूलो लाभ उठाउन सक्ने उनको भनाइ छ । 

लोमान्थाङमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन हुनु मुस्ताङको पर्यटनका लागि सुखद भएको घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ थोम्पेल विष्टले बताए । 

सरकारले सन् २०२० (आर्थिक वर्ष २०७६/७७) लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा लोमान्थाङमा प्याराग्लाइडिङ परीक्षण हुनु सुखद भएको स्थानीय पर्यटन व्यवसायी टासी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्