कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीसहित उनका क्लोज कन्ट्याक्टमा रहेका सल्लाहकार तथा सचिवालयका उच्च अधिकारीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो । उनका अनुसार यसअघि पनि प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो । तर त्यसको रिपोर्ट नेगेटिभ आएको थियो ।

एक साताअघि प्रधानमन्त्री निवासमा भएको एक बैठकमा सहभागी भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको थियो । प्रदेश प्रहरी गठनसम्बन्धी त्यस बैठकमा प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादलसँगै सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र सुरक्षा निकायका उच्च अधिकारी उपस्थित थिए ।

साउन १५ गते त्यस बैठकमा सहभागी प्रदेश २ का कानुनमन्त्री यादवले कोरोना परीक्षणका लागि साउन १८ गते स्वाब दिएका थिए । पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो । यादवलाई कोरोना देखिएपछि प्रधानमन्त्री निवासमा भएको त्यस बैठकमा सहभागीलाई सशङ्कित बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्