ट्र्याक खुलेको १० वर्षपछि सडकको स्तरोन्नति



म्याग्दी : सडकको ट्र्याक खुलेको १० वर्षपछि बल्ल म्याग्दीको एउटा सडकको स्तरोन्नतिका लागि काम सुरु भएको छ। जिल्ला सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको बरंङ्जा जोड्ने हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडकको स्तरोन्नतिका लागि काम सुरु भएको हो। यो सडकको ट्र्याक २०६५ सालमा खोलिएको हो।

गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनी नगरपालिका २ मा पर्ने हाँडेभिरदेखि बेनपाको बगरफाँट सुर्केमेला थामडाडाँ हुँदै बरंजा जोड्ने सडक स्तरोन्नतिका लागि उपभोक्ता समितिमार्फत काम सुरु गरेको हो।

यो सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको छ। उक्त बजेटबाट हाँडेभीरदेखि बरंजासम्मका विभिन्न ठाउँमा सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाउने, कजवे बनाउने, घुम्ति तथा मोड, ग्रेड सुधारका साथै ग्राभेल र सोलीङ गरिने उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए।

प्रदेश सरकारको (ग) बर्गमा परेको यो सडक आयोजनामा साँघुरो र उकालो भएर ग्रेड नमिलेको ठाउँमा करिब ६०० मिटर नयाँ ट्याक खोलिन पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर घनश्याम रोकाले जानकारी दिए। सब इन्जिनियर रोकाका अनुसार सडकको विभिन्न ठाउँमा १ हजार ८१६ धनमिटर ग्यावीयन पर्खाल, एक हजार २५० मिटर ग्राभेल र १४८ मिटरमा ढुंगा बिछ्याएर सोलीङ गरिने योजना रहेको छ।

सडक स्तरोन्नति भएपछि बेनी नगरपालिकाको बगरफाँट, भकिम्ली, सुर्केमेला, थामडाँडा र मंगला गाउँपालिकाको बरंजाका तीन हजार भन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ। २०७५ फागुन १५ गते सम्झौता भएको योजना २०७६ जेठ १५ मा सम्पन्न गर्ने लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्