सहमहामन्त्रीमा उम्मेदवारी दिने इच्छा छ : यादव



नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्–महेन्द्र यादव । पूर्वमन्त्री, पूर्वसांसद, तरुण दलका पूर्वअध्यक्षसमेत रहेका यादव काँग्रेसभित्र प्रभावशाली युवा नेताको रुपमा प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् । १४औँ महाधिवेशनमा सहमहामन्त्रीका दावेदारसमेत रहेका यादवको प्रभाव देशभरी छ । काँग्रेसको १४औँ महाधिवेशन, वर्तमान राजनीति लगायतका विषयमा केन्द्रीत रही द नेपालटपकी समाचारदाता आशा साहले गरेको कुराकानीको सारसंक्षेप :-

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको तयारी कस्तो छ ?
– तयारी ठीकै छ । पार्टीबाट हुनुपर्ने निर्णय तथा अन्य कामसमेत भइरहेको छ । शीर्ष नेताहरु समेत महाधिवेशन केन्द्रित आफ्ना गृहकार्यमा जुटिसक्नुभएको छ । केन्द्रदेखि जिल्लासम्म चासो र चुनौती रहे पनि तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न हामी लागेका छौं ।

काँग्रेसभित्र सभापतिको उमेदवारका रुपमा नेताहरुले आकांक्षा राख्न थालेका छन् । महाधिवेशन लागिसकेको हो ?
– महाधिवेशनको मिति तय भइसक्यो । त्यसैले महाधिवेशन लागिसकेको नै भन्नुपर्यो ।

तर, देशमा कोरोना भाइरसको महामारी छ । महामारीकै बीच तोकिएको मितिमा महाधिवेशन हुन्छ त ?
– महाधिवेशनबारे कति तयारी हुन्छ । तयारीअनुसार पछि पुनः बैठक बसेर यसबारे समिक्षा भएपछि के गर्ने नगर्ने तय हुन्छ ।

काँग्रेस पार्टीभित्र संस्थापन र संस्थापनइतर समूहबीचको खास विवाद के हो ? किन काँग्रेस एकढिक्का हुन सकिरहेको छैन ? प्रमुख प्रतिपक्षीको रुपमा काँग्रेसको भूमिका कमजोर रह्यो भन्छन् नि ?
– नेपाली काँग्रेसमा सैद्धान्तिक विवाद छैन । काँग्रेसमा खाली पदीय विवाद मात्र छ । जस्तै–म सभापति बनौं कि वा म महामन्त्री बनौं कि । पदीय विवाद भएका कारणले महाधिवेशनसम्म यो विवाद रहिरहन्छ । महाधिवेशन भइसकेपछि सभापति, पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि यो विवाद समाधान भएर जान्छ ।

तर, के निर्वाचनपछि विवाद समाधान हुन्छ ?
– निर्वाचित नहुने व्यक्तिले अर्को पटक पुनः चाहना राख्छ । कार्यकर्ताको बीचमा जान्छ । सभापति भएकालाई अलि–अलि आलोचना गर्नुपर्यो । आलोचना गरेपछि मात्र कार्यकर्ताको बीचमा आफ्नो कुरा राख्नुपर्यो । त्यो त स्वभाविक हो नि । प्रजातन्त्रमा म राम्रो गर्न सक्छु भनेर कार्यकर्ताको बीचमा राख्छ र भएको सभापतिले मेहनत गरेन र काम गरेन भने अर्काे पटक सम्भावना रहदैन । त्यहि भएर त पदीय झगडा भन्नुभयो भने यो पदीय झगडा पनि हैन । यो पदीय कारण मात्रै हो ।

आगामी महाधिवेशनमा तपाईको आकांक्षा कुन पदका लागि रहन्छ ?
– यस विषयमा साथीभाईसँग सल्लाह गर्छु । साथीभाईसँग सल्लाह गरेपछि मधेश कोटाबाट सहमहामन्त्रीमा मेरो इच्छा छ तर, अहिले निश्चय भइसक्या छैन । साथीभाईसँग सल्लाह गरेपछि म निर्णय गर्छु ।

पहिलेदेखि खटपट चलिरहेको काँग्रेसभित्रको गुटगत लडाइँ अहिले आएर संगठित रुपमा देखा पर्न थालेको छ नि ?
– महाधिवेशन नजिकिँदै गरेको कारण नेता कार्यकर्तामा व्यक्तिगत पदीय आकांक्षा हुन्छ । त्यसैले म सभापति बनौं वा म महामन्त्री बनौं र त्यसका लागि अहिले आ–आफ्नो साथीभाईको बीचमा छलफल चलिरहेको छ । गुटगत काँग्रेसभित्र मात्रै छैन । धेरै पार्टीमा छ र यो समाप्त पनि हुँदैन । मन मिल्ने साथीसँग छलफल चलिरहन्छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच के को लडाइँ हो त ?
आसन्न महाधिवेशन भएको कारणले पदीय लडाइँ मात्र हो । अरु सैद्धान्तिक लडाई हैन ।

त्यसो त पार्टीका पुराना नेता–कार्यकर्तालाई कारबाही गर्ने र अन्यलाई पार्टी प्रवेश गराउने सभापति देउवाको सोच र कदम कतिको उचित छ ?
– अन्य पार्टीबाट नेताहरुलाई ल्याएर पार्टीलाई सभापति शेरबहादुर देउवाले बलियो बनाउनुभएको छ । अनुशासन समितिको आफ्नो एजेण्डा छ । पार्टीको विधान छ । अनुशासन समितिले गरेको कारबाहीलाई म केही भन्दिन ।

तपाईहरु त प्रमुख प्रतिपक्षी दलको सदस्य हुनुहुन्छ । सत्ताधारी दललाई आफूखुशी काम गर्दा के प्रतिपक्षी दलको भूमिका बलियो हुन नसकेको हो ? के तपाईहरुको पार्टी इतिहासकै कमजोर अवस्थामा छ ?
– नेपाली काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका शुरुदेखि नै निर्वाह गर्दैआएको छ । सरकारले संविधान विरोधी विधेयक ल्याउँदा त्यसलाई फिर्ता गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा विधेयक ल्याउँदा राष्ट्रपतिले तत्काल जारी गर्दा पनि काँग्रेसकै कारणले त्यो विधेयक फिर्ता भयो । कोरोनाको महामारीको बेला पनि सरकार सम्पूर्ण रुपमा असफल भएको छ ।

सरकार कोरोना महामारी नियन्त्रण गर्न असफल भयो भने तपाईंहरुको भूमिका कहाँ छ ?
– अहिले जनताले कम्युनिष्ट पार्टीलाई बहुमत दिएको कारणले राजीनामा मागेर सरकार हट्ने अवस्था छैन । तर, जनतालाई लागिसकेको छ कि अहिलेको सरकार असफल भइसक्यो । त्यसैले आगामी निर्वाचनमा जनताले सरकारविरुद्ध आफ्नो मत अभिव्यक्त गर्छ ।

त्यसो भए तपाईहरुले यस अवस्थामा जनताको मत कसरी जित्नु हुन्छ ?
– अहिले नै काँग्रेसले जनताको मन जितिसक्यो । सबैलाई लागिसक्यो कि काँग्रेस भएको भए अहिले कोरोना महामारीबाट पनि धेरै राहत हुन्थ्यो । धेरै काम हुन्थ्यो । अहिले सरकार यो महामारीको बेला पनि भ्रष्टाचारमा लिप्त छ । औषधि किन्दा, पीपीई किट किन्दा भ्रष्टाचार गरेको छ । अहिले औषधि छैन, आइसोलेसन वार्डहरुको व्यवस्था राम्रो छैन । पीसीआरको परीक्षण बढाउन सकेको छैन । त्यसैले यो सरकारले जुन गर्नुपर्ने काम थियो कोरोना महामारीको बेलामा त्यो सम्पूर्णरुपमा असफल भइसकेको छ । जे भइरहेको छ, त्यो स्वतः हुने कामहरु हो ।

अहिलेको यो परिस्थितिमा काँग्रेस सरकारमा भएको भए के जनताले सरकारको अनुभूति गर्न पाउथ्यो ?
– हामीले अनुमान गरेर कोरोना महामारी नेपालमा पनि फैलिन सक्छ भने त्यसको लागि हामीले पर्याप्त बेडको व्यवस्था गर्थ्यौ । अस्पतालको व्यवस्था गर्थ्यौं । पर्याप्त टेस्टको व्यवस्था गर्थ्यौं । पर्याप्त क्वारेन्टाइनको व्यवस्था गर्थ्यौं । बाहिरबाट आउने व्यक्तिलाई सीमा मै पीसीआर परीक्षण गराएर मात्रै नेपाल प्रवेश गर्ने वातावरण बनाउथ्यौं ।

तर, अहिलेको सरकारले पनि कोरोना महामारी नियन्त्रण गर्न सबै प्रयास गरेको छु भन्दैआएको छ त ?
– त्यो त जसले पनि भन्छ, तर देखिएको छैन नि । अहिले कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा बढी भइसकेको छ । दुई जना सङ्क्रमित हुँदा लकडाउन गरेको थियो । अहिले पनि आइसोलेसनमा भएका व्यक्तिहरुलाई सोध्नुस् त, न पौष्टिक खानेकुरा छ, न उनीहरुले उपचार पाइरहेका छन्, औषधि छैन । अहिले भर्खर इन्जेक्सन ल्याउन स्वास्थ्य मन्त्रालयमा छलफल चलिरहेको छ । जब कि पाँच महिना भइसक्यो ।

सरकारको काम कारबाहीको निगरानी बढाउन काँग्रेसले छायाँ सरकार गठन गरेको एक वर्षभन्दा बढी भइसक्यो । तर, यसको उपलब्धि त देखिएन नि ? के नामको लागि मात्र छायाँ सरकार गठन गरिएको हो ?
– हामीले सरकारलाई सचेत गराउने हो । सरकारको विरुद्धमा मिडियालाई भन्ने हो । अहिलेको महामारीको बेला जुलुस निकालेर देशव्यापी गर्न सम्भव छैन । किनभने अहिले सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था छ । तै पनि हामीले ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ध्यानाकर्षण गराएका छौं । पीसीआर टेस्टको दायरा बढाउन माग गर्दै अहिले सडकमा युवा निस्किएका छन् । सामाजिक दूरी कायम गरिएको छैन । मास्क नलगाई हिँडेका मानिसको अनुगमन छैन । यो अवस्थामा भन्ने हो भने अहिले पशुपतिनाथ र जानकीजीको कृपाले बाँचिरहेका छौं ।

यही परिस्थितिमा छायाँ सरकारको भूमिका देखिनुपर्यो नि ?
– छायाँ सरकार त हामीले भन्ने मात्र हो । जनताको बीचमा भन्ने हो । मिडियामा भन्ने हो । प्रधानमन्त्रीको कुर्सी तानेर हामी गएर त बस्ने होइन नि । सरकारले सुनेकै छैन, जति भने पनि । आफैँ–आफैँ पार्टीमा झगडा गरेर बसिरहेको छ । जनतालाई झुक्याइरहेको छ । अझ विकास निर्माणको त कुरै छोडौं । अहिले जनतालाई बचाउनु थियो नि । सरकारको प्रमुख दायित्व जनतालाई बचाउने, जनतालाई जोगाउने हो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट कोही पनि मर्न नदिने भन्दै आइरहँदा आजको दिनसम्म ६७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ?
– प्रधानमन्त्री ओलीले झुटो बोले नि, प्रधानमन्त्रीको बोली गैरजिम्मेवार हो ।

प्रमुख प्रतिपक्षी दलको हैसियतले यो सरकारको कामकारबाहीको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?
– प्रतिपक्षको हिसाबले सरकारको मूल्याङ्कन गर्दा हरेक मुद्दामा केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको छ । जस्तै–कोरोनाबाट जनतालाई बचाउने र महामारीलाई नियन्त्रण गर्नेमा असफल भएको छ । विकास निर्माणमा असफल भएको छ । त्यस्तै सङ्घीयता कार्यान्वयन गर्नमा असफल भएको छ । भ्रष्टाचार नियन्त्रण गर्नमा असफल भएको छ । हामीले यत्रो रगत बगाएर संविधान ल्यायौं यो संविधानलाई पटक–पटक निस्तेज पार्ने प्रयास भइरहेको छ ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्