कांग्रेसको प्रश्न- ‘अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’



काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुबै कुरा सरकारसँग नदेखिएको निष्कर्ष निकालेको छ ।

कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आज शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सरकारले जनताको अपेषा अनुसार काम गर्न नसक्नु र परिणाममा सरकारका विरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु स्वभाविक रहेको बताएका हुन् । आमरण अनशनमा रहेका युवाहरुसँग तत्काल वार्ता गर्न पनि उनले आग्रह गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ– ‘विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन् । त्यही माग अघि सारेका छन् जो विगत देखि दल र संचार माध्यमहरुले उठाउंदै आएका थिए । सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन् । तर अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ ।’

‘कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना हो । नेपाली कांग्रेस अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोना विरुद्धको संघर्षमा व्यापक बढेको चुनौती सामना गर्ने ढंगले नवीन रणनीति एवं अपेक्षित गतिका साथ कार्य गर्न सरकार समक्ष माग र सार्वजनिक अपील गर्दछ’– विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्