यसकारण आएकाे थियाे वीरेन्द्रकी नातिनीलाई ‘बेबी किङ’ बनाउने अवधारणा



काठमाडौं : २०६२/६३ को जनआन्दोलनका बेला काठमाडौंको नेतृत्व गरेका नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान गिरिजाप्रसाद कोइरालासँग अत्यन्त निकट रहेर काम गरेको सम्झन्छन्। गिरिजा बाबुसँग प्रधानले गरेको कामको सम्झना त्यसभन्दा पूर्व २०५९ सालमा राजाले गरेको ‘कू’मा जोडिन पुग्छ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गरे र देशको शासन आफ्नो हातमा लिए। ज्ञानेन्द्रले त्यसरी गरेको ‘कू’ एक्कासी र एकैपल्टमा गरेका थिएनन्। उनले त्यसअघि नै ०५९ असोज १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम घोषणा गरेर लोकतान्त्रिक सरकार भंग गरी ‘कू’ को सुरुवात गरिसकेका थिए। के के भयो, कुनै बेला हाकाहाकी ‘माले, मसाले र मण्डले’ एकै हुन् भन्ने गिरिजाप्रसाद कोइराला  कसरी माओवादीसँग सहकार्य गर्न र गणतन्त्र स्वीकार गर्न तयार भए प्रधानकै शब्दमा :

गिरिजाबाबुले दरबारसँग सच्चिन आग्रह समेत गर्नुभएको थियो। जब शेरबहादुर देउवाले संसद् भंग गर्नुभयो र चुनाव घोषणा गर्नुभयो, त्यसबेला देशमा चुनाव हुने अवस्थै थिएन। 

देशको सबै अधिकार राजाको हातमा पुगेको थियो। मुलुक र प्रजातन्त्र झन् झन् संकटतर्फ घचेटिँदै थियो। 

कांग्रेस फुट्यो, चुनाव घोषणा गरेको छ र चुनाव हुने स्थिति छैन। असोज १८ आयो। त्यतिबेला राजाले प्रधानमन्त्रीलाई चुनाव गराउन नसकेको आरोप लगाएर बर्खास्त गरिदिए। 

राजाले आफ्ना मान्छे नियुक्त गरे । त्यसपछि त झन् झन् क्षति हुँदै गयो। एकातिर माओवादी थिए, अर्कातिर राजा ज्ञानेन्द्रको महत्वाकांक्षा थियो। 

अब मुुलुकमा राम्रो हुने त केही गुन्जायस नै थिएन। मुलुकको अवस्था देखेर गिरिजाबाबु निकै चिन्तित हुनुहुन्थ्यो। 

राजाले उहाँलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए। तर मैले गिरिजाबाबुलाई तपाईं माथि उठ्ने भए प्रधानमन्त्रीभन्दा गणतन्त्रको एजेन्डा लिएर उठ्नुस् भन्ने सल्लाह दिएँ। 

माओवादी–सरकार सशस्त्र द्वन्द्वका कारण सुदूरपश्चिममा कांग्रेस कार्यकर्ताको मृत्यु भएको थियो। पार्टीको झण्डा ओढाउन गिरिजाबाबु जाने तयारी गर्नु भएको थियो। सुरक्षा दिन नसकिने भन्दै गिरिजाबाबुलाई आफ्ना कार्यकर्ताप्रति श्रद्धाञ्जलि दिन जान पनि दिइएन। 

त्यो उहाँको मनमा बिझाइरहेको थियो र उहाँले अन्तिममा माओवादीलाई वार्तामा ल्याउने अठोट गर्नुभयो। गिरिजाबाबु एक निडर र दूरदर्शी नेता हुनु हुन्थ्यो। 

गणतन्त्र घोषणा भएलगत्तै एक दिन उहाँले अनौपचारिक कुराकानीमा राजतन्त्र अन्त्य हुन नसक्ने बताउनुभएको थियो। तर उता ज्ञानेन्द्र अलोकप्रिय भइसकेका थिए भने उनका छोरा पारसलाई जनताले स्वीकार गर्नै नसक्ने परिस्थिति थियो। 

त्योभन्दा बरु श्रुतिको छोरी अर्थात राजा वीरेन्द्रकी नातिनी गिर्वाणी राणालाई ‘बेबी किङ’ बनाउने कि भनेजस्ता कुरा भइरहेका थिए। 

देशको द्वन्द्व मत्थर पार्न गिरिजाबाबु माओवादीसँग वार्ता गर्न दिल्ली पुग्नुभएको थियो। उहाँले प्रचण्ड र बाबुरामसँग भेटेर सहमति गर्नुभएको थियो र सबैभन्दा महत्वपूर्ण पक्ष द्वन्द्वरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु थियो।

२०६३ वैशाख ११ को लोकतान्त्रिक आन्दोलनपछि प्रतिनिधिसभाको पुनर्वहाली भयो। त्यसपछि ७ दलका नेताहरूले गिरिजाबाबुलाई फेरि एकपल्ट सर्वसम्मत प्रधानमन्त्री बनाए। 

००००००        ००००००००

२०६३ असार १९ गते गिरिजाप्रसाद कोइरालाको छाति दुखेपछि गम्भीर स्थितिमा अस्पतालमा भर्ना गरियो। यसको एक साताअघि मात्र उनी बैंककमा स्वास्थ्य परीक्षण र उपचार गरेर फर्किएका थिए। अस्पताल भर्ना गरेको भोलिपल्ट उनले संसद्मा नीति र कार्यक्रमसम्बन्धमा बोल्नुपर्ने थियो।

प्रधानमन्त्रीको आफ्नो चौथो कार्यकालमा गिरिजाप्रसादले राजालाई शक्तिबाट हटाउने र सेनालाई संसद्को नियन्त्रणमा ल्याउने विधान तयार गरे। दुवै संसद्बाट पारित भए। 

२०६३ कात्तिक २१ गते गिरिजाप्रसाद र ७ दलका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी) सँग मिलेर सशस्त्र द्वन्द्वको अन्त्य र संविधानसभाको निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गरे। 

२०६३ मंसिर ५ गते कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)) सँग बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी ‘हिंसा र आतंकको राजनीति समाप्त भएको’ घोषणा गरे।

यसपछि २०६३ मंसिर १२ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार संयुक्त राष्ट्र संघको प्रत्यक्ष निगरानीमा माओवादी ‘जनसेना’ समायोजन तथा हतियार नियन्त्रणको सम्झौता कार्यान्वयनमा लाग्योे। 

००००००        ०००००००

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको जन्म १९८१ साल असार १८ गते भारतको बिहार राज्यको टेढीमा भएको थियो। कृष्णप्रसाद कोइरालाका कान्छा छोरा उनी चारपल्ट प्रधानमन्त्री भए।

कृष्णप्रसाद कोइराला चन्द्र शमसेरको कोपभाजनमा परेर भारतमा निर्वासित जीवन बिताइरहेका बेला उनको जन्म भएको थियो। उनका दुई दाजु बिपी र मातृकाप्रसाद प्रधानमन्त्री भइसकेका थिए। 

सन् १९२९ मा परिवारसँगै स्वदेश फर्केका उनी सुष्मा कोइरालासँग दाम्पत्य जीवनमा बाँधिए। सुजाता कोइराला गिरिजाप्रसाद कोइरालाकी छोरी हुन्। 

विसं २००४ सालमा विराटनगर जुट मिल्समा नेपाल मजदुर कांग्रेसको स्थापनाबाट राजनीतिक यात्रा थालेका थिए उनले, जुन पछि नेपाल ट्रेड युनियन कांग्रेसमा परिणत भयो। 

विसं २००८ सालमा उनी नेपाली कांग्रेस मोरङको जिल्ला सभापति भए। २०१७ सालमा राजा महेन्द्रले ‘कू’पछि गिरफ्तार गरी कैद नगरुन्जेल कार्यभार सम्हालिरहे । 

२०२४ सालमा रिहाइपछि उनी पार्टी कार्यकर्ता र नेतासँग भारत निर्वासनमा गए। २०३५ सालमा स्वदेश फिरे। 

उनी २०३१ देखि २०४७ सालसम्म नेपाली कांग्रेसको महासचिव भए। २०४६ सालको जनआन्दोलनपश्चात् नेपालको पहिलो बहुदलीय संसदीय निर्वाचनमा उनी  मोरङको क्षेत्र १ र सुनसरीको क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए। 

२०६३ वैशाख ११ को दोस्रो जनआन्दोलनबाट प्रतिनिधिसभा  पुनर्वहालीपछि उनी एकपटक फेरि नेपालका प्रधानमन्त्री भए। 

८५ वर्षको उमेरमा गिरिजाप्रसाद कोइरालाको निधन २०६६ चैत ७ गते शनिबार छोरी सुजाता कोइरालाको घरमा भयो। त्यसको भोलिपल्ट उनको अन्त्येष्टि पशुपतिनाथ मन्दिरछेउ आर्यघाटमा परम्परागत संस्कारअनुसार गरियो। देशमा उनीजस्ता निर्भिक र दृढ राजनेताको अझै खाँचो छ। 

प्रतिक्रिया दिनुहोस्