सुशान्तको अकाउन्टबाट १५ करोडौं निकालेको आरोप, बयान दिन रिया इडी कार्यालयमा



काठमाडौंः अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको आरोपमा घेरिएकी अभिनेत्री रिया चक्रवर्ती प्रवर्तन निर्देशनालय अर्थात् इडीमा आफ्नो बयान दर्ता गर्न मुम्बईस्थित कार्यालयमा पुगेकी छिन् ।

यसअघि उनले आफ्नो बयान दर्ता गराउने समय बढाउन आग्रह गरेकी थिइन् । रियाका अनुसार उनको याचिका सर्वोच्च अदालतमा विचाराधीन छ र सर्वोच्चको आदेशपछि नै इडीले बयान दर्ता गर्नुपर्छ ।

इडीले रिया चक्रवर्तीलाई नोटिस जारी गर्दै शुक्रबार बयान दर्ता गर्न बोलाएको थियो । इडीले यो मामिलामा कथित आर्थिक अनियमिताको अनुसन्धान गरिरहेको छ । रियामाथि सुशान्तको खाताबाट १५ करोड निकालेर आफ्नो कम्पनीमा लगानी गरेको आरोप छ ।

जून १४ मा उनको मुम्बईस्थित आफ्नै घरमा शव भेटिएको थियो । मुम्बई प्रहरीले यसलाई आत्महत्या ठानेर अनुसन्धान गरिरहेको छ । ईडीले सुशान्तका बिजनेस म्यानेजर श्रुती मोदीलाई पनि सोधपुछका लागि बोलाएको छ ।

सुशान्तका साथी सिद्धार्थ पिठानीसँग ८ अगस्टमा सोधपुछ गरिनेछ । रियाले सर्वोच्च अदालतमा याचिका दर्ता गरेर पटनामा उनीविरुद्ध दर्ता भएको मुद्दा मुम्बईमा स्थानान्तरण गर्न आग्रह गरेकी छिन् ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्