अस्पताल पुगेका महतो छोरी पाए, श्रीमति गुमाए ‘ओ’ पोजेटिभको सट्टा ‘बी’ पोजेटिभ चढाउँदा गंगाको मृत्यु



जनकपुरधामः महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरका राजकिशोर महतो र उनकी श्रीमति गंगादेवी पहिलो सन्तानको प्रतिक्षामा थिए । महतो दम्पत्तीको चेहरामा मुस्कान झल्किरहेको थियो । तर, उनीहरुको त्यो खुशी बढी बेर टिक्न सकेन् । जनकपुरधास्थित रामजानकी हस्पिटलमा पुगेपछि राजकिशोरले सन्तानको रुपमा छोरी त पाए तर श्रीमतिलाई भने सदाका लागि गुमाए । अस्पताल र रेडक्रसको लापरवाहीले उनकी श्रीमती २२ वर्षिया गंगादेवी महतोले ज्यान गुमाउनु परेको छ । हस्पिटलमा २३ वर्षीया गंगादेवी महतोले अस्पताल र रेडक्रसको लापरवाहीले ज्यान गुमाउनुपर्यो । अस्पताल र रेडक्रसले ब्लड ग्रुप चिन्न नसक्दा उनी मृृत्युवरण प्राप्त गरिन् ।

‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा रिएक्सन भएपछि शुक्रबार बिहान साढे ९ बजे गंगादेवीको मृत्यु भयो । सुत्केरी महिलाको मृत्यु भएपछि परिवारजनले शव उठाउन मानेका छैनन् । मृतकको शव भने अहिले पनि रामजानकी हस्पिटलको आइसीयुमा राखिएको छ ।

चिकित्सकलाई पुछताछका लागि प्रहरीले बोलायो
सुत्केरीको मृत्यु भएपछि रामजानकी हस्पिटलका दुईजना चिकित्सकलाई प्रहरीले पुछताछका लागि बोलाएको छ । र्दुइजना चिकित्सकलाई सोधपुछका लागि बोलाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

लापरवाही कसको ?

गंगादेवी महतोको सुत्केरी हुने समय नजिकिएपछि श्रीमान राजकिशोर श्रीमतीलाई लिएर महोत्तरीको बर्दिवास्थित स्वस्तिक अस्पतालमा जाँच गराउन पुगे । त्यहाँ अस्पतालमा अल्ट्रासाउण्ड गराउँदा चिकित्सकहरुले बच्चाको तौल साढे ३ किलो रहेको र आमा कमजोर रहेकोले अपरेशन नै गर्नुपर्ने सुझाव दिए । चिकित्सकको सल्लाह अनुसार नै आफूहरु जनकपुरधामस्थित रामजानकी हस्पिटल पुगेको मृतकको देवर रामहरि महतोले बताए । आफूहरु बिहिबार अपरान्ह ४ बजे अस्पतालमा भाउजुलाई भर्ना गराएको उनले बताए । यहाँ पनि गाइनोक्लोजिष्ट चिकित्सक शैलेन्द्र साहले अपरेशन मार्फत सुत्केरी गराउन सल्लाह दिएपछि सोही अनुरुप अपरेशनको प्रकृया अगाडी बढाइएको रामहरिले बताए । शल्यक्रियापछि गंगादेवीले छोरी जन्माएकी थिइन् ।

यसअघि नै गंगादेवीलाई रगतको खाँचो पर्ने भन्दै रगतको व्यवस्था गर्न भनेका थिए । रगतको व्यवस्था गर्न श्रीमान राजकिशोर र देवर रामहरि लागिसकेका थिए । चिकित्सकहरुले गंगादेवीको रगगतको सैम्पल सहित रगत ल्याउन भनेका थिए । रेडक्रसले गंगादेवीको ब्लड ग्रुप ‘बी’ पोजिटिभ रहेको र श्रीमान राजकिशोरको पनि ब्लड ग्रुप सोही रहेकोले उनले श्रीमतीका लागि एक पोका रगत दिए ।

रेडक्रसले दिएको रगतको पोका चिकित्सकहरुले चढाउँदा सुत्केरी झनै सिकिस्त हन थालेपछि तत्काल रगत चढाउन आफूहरुले बन्द गरेको अस्पतालको प्रशासन शाखाका प्रमुख विकासचन्द्र गुप्ताले बताए । पछि अस्पतालकै ल्याबमा रगतको जाँच हुँदा ‘ओ’ पोजेटिभि ठहरिएको थियो । रगत लिन जाँदा रेडक्रसले पनि ‘ओ’ पोजिटिभ रगत नै दिएको गुप्ताले बताए । उनले भने,‘बी पोजिटिभ ब्लड ग्रुप ठहर गरेको रेडक्रसले सोही रगतलाई फेरी कसरी ‘ओ’ पोजेटिभ ठहर गर्यो हामीलाई थाहा छैन, हामीले ल्याबमा जाँच गराएपछि मात्रै ‘ओ’ पोजेटिभ रहेको थाहा पाएका थियौँ, यो हाम्रो लापरवाही होइन रेडक्रसको लापरवाही हो ।’

गंगादेवीको अर्को ब्लड ग्रुपकै रगत चढाइएका कारण मृत्यु भएपछि परिवारजन आक्रोशित छन् । मृतकका ससुरा अजवलाल महतो आक्रोशित हुँदै भने,‘यिनीहरु डाक्टर हुन् कि ज्यान लिने डाकु ।’ उनीहरुलाई कारबाही नभएसम्म हामी चुप्प बस्दैनौँ अजबलालले बताए । यता श्रीमान राजकिशोर एकदमै शोकाकुल छन् । उनी आफ्नो आँसु थाम्न नसक्दै भने,‘मेरो सन्तान त स्वस्थ छ तर यी ज्यानमारा डाक्टरहरुका कारण मेरो श्रीमती अब यस संसारमा रहिनन् ।’

यता, रेडक्रस धनुषाका सभापति नरेश सिंहले यस विषयमा अनुसन्धान भईरहेको र कहाँ गलती भएको हो भन्ने विषयमा पत्ता लगाईरहेको जानकारी दिएका छन् ।

जनकपुरधामको प्योथोेलोजीहरुको रिपोर्ट भरपर्दो छ त ?
जनकपुरधामको प्याथोलोजी रिपोेर्टमाथी पटक पटक प्रश्न चिन्ह खडा हुँदै आईरहेको छ । प्यथोेलोेजि रिपोर्टले बिरामीको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सकहरु बताउँछन् । प्याथोलोजी रिपोर्ट गलत हुँदा उपचार पनि सही हुुन नसक्ने चिकित्सकहरुको भनाई छ ।

यता गंगादेवी महतोको केसमा समेत प्याथोेलोजी रिपोर्टको विश्वसनियतामाथी प्रश्न उठेको छ । जनकपुरधामकै रामजानकी डाइग्नोष्टिक सेन्टरमा ३ महिना अगाडी ब्लड ग्रुप जाँच गराउँदा ‘बी’ पोजिटिभ ब्लड ग्रुप रहेको भनिएको छ । तर अहिले आएर सोही महिलाको ब्लड ग्रुप जाँच गर्दा ‘ओ’ पोजेटिभ रहेको पाइएको छ ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्