एएफसी यू–२३ च्याम्पियनसिप छनोट : नेपाल ओमानसँग भिड्दै



काठमाडाैं : एएफसी यू–२३ च्याम्पियनसिपको छनोट अन्तर्गत नेपालले शुक्रबार ओमानसँग पहिलो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार राती ७ः४५ बजेदेखि दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ। सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन्।

समूह ‘ए’ मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग खेल्नुपर्नेछ। ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्याण्डले एएफसी यू–२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।

खेलअघिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीबिरुद्ध नेपालले दवावरहित भएर खेल्ने बताए। ‘फिफा बरियाता, पूर्वाधार, प्रदर्शन सबै हिसावले ओमान र कतारजस्ता टिम हामीभन्दा बलिया छन्, हामीले हाम्रो शतप्रतिशत दिएर खेल्नेछौं सकारात्मक नतिजाको अपेक्षा गछौं।’ प्रशिक्षक महर्जनले खेलाडीहरू स्थानीय नकआउट प्रतियोगितामा व्यस्त रहेका कारण लामो तयारी नभएको जानकारी दिए।

प्रतियोगिताका लागि मंगलबार राति कतार आइपुगेको नेपाली टोलीले बुधबार र बिहीबार अभ्यास गरेको छ। प्रशिक्षक महर्जनले २३ मध्येबाट उत्कृष्ट ११ तय गर्न कठिन भएको बताए। ‘अभ्यासमा खेलाडीहरूले एक से एक प्रदर्शन गरिरहेका छन्, मलाई सेट तयार पार्न पनि कठिन भइरहेको छ, जुन सकारात्मक कुरा पनि हो,’ महर्जनले भने।

ओमानका प्रशिक्षक हमाद अजानीले टिममा नयाँ अनुहारको बाहुल्य रहेको र उनीहरु सकारात्मक नतिजाका लागि उत्साही रहेको बताए। ‘छोटो तयारीका साथ हामी प्रतियोगिताका लागि आएका छौं। टिममा धेरैजसो नयाँ अनुहार छन्। तर पनि हाम्रा खेलाडीहरू उत्साही छन्’ उनले भने।

प्रशिक्षक अजानीले नेपाललाई कमजोर प्रतिस्पर्धीका रुपमा नलिएको प्रष्ट पारे। उनले भने, ‘हामीले एसियन गेम्सका बेला जाकार्तामा नेपालको खेल हेरेका छौं, नेपाल पक्कै पनि कमजोर टिम होइन।’ बलियो टिम ओमानबिरुद्ध नेपालले स्वभाविक रुपमा रक्षात्मक खेल्नेछ। काउन्टर एट्याक र सेट पिस गोलको अवसरमा नेपालको ध्यान केन्द्रित छ।

फिफा बरियातामा नेपाल १ सय ६१ औं स्थानमा छ। ओमान नेपालभन्दा ७१ स्थान माथि अर्थात ९० औं स्थानमा छ। यू–२३ को उमेर समूहमा नेपाल र ओमान पहिलोपल्ट आमने सामने हुँदैछन्। सिनियर टोलीमा परिचित भए पनि उमेर समूहको शीर्ष टोलीबीच भने नयाँ प्रतिस्पर्धी हुन्। सिनियर स्तरमा भने नेपाल र ओमानबीच १० खेल भएकोमा नेपालले एक खेल पनि जित्न सकेको छैन्।

प्रतिक्रिया दिनुहोस्