नेकपाको सचिवालय बैठक दिउँसो एक बजे



काठमाडौं । पार्टी एकतालाई पूर्णता दिने लगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार पनि बस्दैछ ।

 

बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी गठन, सरकारको समीक्षा लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

 

बैठकमा आगामी स्थायी समिति बैठकको कार्यसूचीबारे पनि छलफल हुने अनुमान छ । नेकपा स्थायी कमिटीको बैठक यही कात्तिक १२ र १३ गते बस्ने तय भएको छ ।

 

आइतबार बसेको सचिवालय बैठकले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो । यसअघि मानन्धरले राजीनामा दिएपछि रिक्त हुने स्थानमा उपनिर्वाचन गराउने र नेता बामदेव गौतमलाई जिताएर सांसद बनाउने गृहकार्य गरिएको थियो । 

 

मानन्धरले बामदेवका लागि पद त्याग्न तयार रहेको पत्र पार्टी बैठकमा पेश पनि गरेका थिए । गृहजिल्ला बर्दियाबाट पराजित गौतमलाई उपनिर्वाचनमार्फत् सांसद बनाउन खोजिएको भन्दै सर्वत्र आलोचना भएको थियो ।

    

 

प्रतिक्रिया दिनुहोस्