सुत्केरी महिलाको मृत्यु, चिकित्सकले लापरबाही गरेको आरोप



कैलाली : धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ वर्षीया सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

बेथा लागे पछि चैत ४ गते सेती अञ्चल अस्पताल धनगढीमा भर्ना भएकी रेखा थापाको सामान्य डेलिभरी हुन नसकेपछि अप्रेसन गरिएको थियो । मृतकका श्रीमान् जय थापाका अनुसार अप्रेसन पछि उनको पेट सुन्निएको थियो । 

उपचारमा संलग्न चिकित्सकले ग्यास्ट्रिकको कारण देखाउँदै दुई दिन बेवास्ता गरेको उनको आरोप छ । डाक्टरले बुधबार थापालाई जन्डिस भएको भन्दै सोको उपचार गरेको थियो । 

तर पेट सुन्निने समस्या यथावत् रहेपछि बिहीबार बिहान मात्रै अस्पतालले थप उपचार सम्भव नभएको बताएपछि रेखालाई बाँकेको कोहलपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

सेती अञ्चल अस्पतालका चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । उनीहरूले लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका छन् ।

सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भने घटनाबारे थप अनुसानधान गर्न छानबिन गर्न समिति गठन गर्ने बताएका छन् । 

मृतकबाट जन्मिएको बालकको स्वास्थ्य भने सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्