रौतहटमा दुई पक्षबीच झडप, सुरक्षाकर्मीसहित ९ जना घाइते



रौतहट : गुजरा नगरपालिका ९ स्थित सिम्राभवानीपुरमा बिहीबार दुई पक्षबीच भएको झडपमा ३ सुरक्षाकर्मीसहित ९ जना घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास र रबरको गोली चलाएको छ ।

होली पर्वको उपलक्ष्यमा गाउँमा माटोको घैटा (मटकी) फुटाउन राखेको बेला अर्को पक्षले फुटाई दिएपछि झडप भएको हो । झडप लगत्तै इलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक अनमोल खड्काको टोली पुगेको थियो । 

दुवै पक्ष निकै आक्रामक शैलीमा प्रस्तुत हुन थालेपछि प्रहरीले सम्झाउने प्रयास गर्‍यो । केही समूहले प्रहरीमाथि हुलहुज्जत गर्न खोजेपछि ६ राउण्ड रबरको गोली र ७ राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए ।

अप्रिय घटना हुन नदिन चन्द्रनिगाहपुर र गरुडाबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । झडपअघि गुजरा ९ चौधरी टोलका रोहित चौधरीलाई नियन्त्रणमा लिई प्रहरी चौकी सिम्राभवानीपुरमा राखेपछि स्थिति तनाव बनेको थियो । 

घटनामा सिम्राभवानीपुरका विवेक चौधरी, तेतरीदेवी साह, रामएकवाल साह रौनियार, जितेन चौधरी, निरजंकुमार बछार र सोनेलाल सहनी घाइते भएका छन् ।

झडपमा प्रहरी चौकी सिम्राभवानीपुरमा कार्यरत प्रहरी हवलदार ईश्वर विष्टको मुखमा ढुंगाले लागेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी जवान पीताम्बर काफ्ले र इलाका प्रहरी गरुडामा कार्यरत पहरी जवान पवन कार्की पनि घाइते भएका छन् । 

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले सिम्राभवानिपुरस्थित चौधरी टोलका दीपेश चौधरी, आकाश चौधरी, पप्पु चौधरी र सुकेश्वर चौधरीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्