लकडाउन अन्त्यसँगै संक्रमित र मृत्यु हुनेको संख्या बढ्यो, स्थिति भयावह हुनसक्ने



काठमाडौं : लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ । पछिल्लो ३६ दिनयता शुक्रबार मात्रै सबैभन्दा धेरै ४ सय ६४ जना संक्रमित थपिएका छन् । शुक्रबार मात्रै थप ५ जनाको मृत्यु भएको छ । मृतकको उमेर समूह अधिकांशको ४० देखि ६० वर्ष छ ।

पछिल्लो एक साताको अवधिलाई आधार मान्दा दैनिक ३ सय ४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

गत ७ साउनदेखि सरकारले लकडाउन अन्त्य गरेको थियो । लकडाउन अन्त्य भएयता थप ४ हजार १ सय १९ जनालाई संक्रमण देखिएको छ । यस्तै, लकडाउन अन्त्य भएयता संक्रमित २७ जनाको मृत्यु गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित ७० जनाको मृत्यु भएको छ ।

यस्तै, शुक्रबार काठमाडौं उपत्यकामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । यो हालसम्मकै संक्रमित थपिनेहरूको उच्च संख्या हो । काठमाडौंमा मात्रै शुक्रबार ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा कुल संक्रमितको संख्या ९ सय ८२ पुगेको छ ।

काठमाडौंमा ७ सय ६६, ललितपुरमा १ सय ३४ र भक्तपुरमा ८२ संक्रमित पुष्टि भएका छन् । देशैभर शुक्रबार ४ सय २५ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख २७ हजार ५सय एक जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो समय श्वास प्रश्वासका समस्या, उच्च ज्वरो, पखालालगायतका लक्षणसहितका संक्रमित अस्पताल पुग्ने गरेका छन् । हेलचेक््रयाइँले संक्रमितको संख्या बढ्दै गएको भन्दै स्वयं व्यक्ति सचेत र सजग रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।

मुख्यतः व्यक्ति व्यक्तिबीच भौतिक दूरी कायम नहुँदा र मास्कको उचित प्रयोग नगरिँदा जोखिम बढेको चिकित्सकहरू बताउँछन् । सरकारले लकडाउन अन्त्य गरे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङमा हेलचेक्याइँ गर्दै आएको छ ।

विभिन्न जिल्लाबाट काठमाडौं भित्रिनेहरूको ट्रेसिङ गरिएको छैन । काठमाडौं उपत्यकामा विभिन्न नाकाबाट भित्रिनेहरू बढ्दै गए पनि उनीहरू सबैको कोरोना परीक्षण गरिएको छैन । शुक्रबार काठमाडौं आइपुगेका सिन्धुपाल्चोकका रवीन खतिवडाले भने, ‘म काठमाडौं आइपुगें । मेरो साथीलाई कोरोना संक्रमण देखिएको थियो । म उसको नजिक थिएँ तर मेरो कोरोना परीक्षण गर्न अस्पतालले आनाकानी गर्यो ।’

हाल देशभर १० हजार २ सय ७ जना क्वारेन्टिनमा बसेका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही दिनयता समूह समूहमा संक्रमण देखिन थालेको छ । लकडाउन अन्त्यपछि भारतबाट नेपाल फर्केकाहरू कोरोना परीक्षण नै नगराई धमाधम घर फर्किन थालेको पाइएको छ । जोखिम बढ्नुको मुख्य कारण यो पनि रहेको चिकित्सकको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्