नेशनल अस्पतालको दादागिरी : उपचार नपाएर बिरामीले गेटमै त्याग्छन् प्राण, स्थानीय प्रशासन बन्यो रमिते



पर्सा : वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई भर्ना लिन नमानेपछि दुई दिनमा तीनजनाले ज्यान गुमाएका छन । जिल्ला प्रशासन कार्यालय पर्साले निजी अस्पतालले बिरामी भर्ना नगरे कडा कारवाही गर्ने चेतावनीसहितको सूचना जारी गरेकै दिन मेडिकल कलेजले विरामी भर्ना नलिँदा उपचारको अभावमा तीन जनाले ज्यान गुमाउनुपरेको हो ।

वीरगन्ज ११ श्रीपुरका चलितर महतो, वीरगन्ज ३ छपकैयाका जोखु साह सोनार र वीरगन्ज २ छपकैयाका २० वर्षीय युवती विष्णु लामा (फुच्ची) को अस्पतालले भर्ना नदिँदा उपचारको अभावमा ज्यान गुमाएका हुन् ।

नारायणी अस्पताललाई कोभिड अस्पताल घोषणा गरेपछि यहाँ हुने सम्पूर्ण उपचार सेवा सरकारी दररेटमै नेशनल मेडिकल कलेजमा गर्ने राज्यले नै व्यवस्था गरेको छ ।

तर राज्यको निर्देशनलाई पालना नगरेपछि त्यहाँ उपचार गराउँन गएका तीन जनालाई बिरामीलाई गेटभित्र प्रवेश गर्न नदिँदा तीन जनाले उपचार नपाएर ज्यान गुमाउँनुपरेको हो । विगत लामो समयदेखि दमको रोगबाट ग्रसित लामालाई तीन दिनअघि समान्य ज्वरो आएको थियो ।

उनलाई ज्वरो आएपछि स्थानीय औषधि पसलबाट औषधि लिएर खाएपछि ज्वरो निको भएको थियो । तर शुत्रबार राति एक्कासी फेरि ज्वरो आउनुका साथै सास फेर्ने समस्या हुन थालेपछि नेशनल मेडिकल कलेजमा पु¥याइएको थियो ।

मेडिकल कलेजले गेटभित्र प्रवेश गर्न नदिएपछि अलपत्र परेकी ती युवती अस्पताल गेट अगाडि नै उपचार नपाउँदा छटपटाई रहेकी थिइन् । उनको सहयोगी छिमेकी विनोद भुजेलले समाजिक सन्जालमा उद्दारको गुहार गरेपछि जनता समाजवादी पार्टीका जिल्ला सचिवको तबरेज अहमदको सहयोगमा उद्दार गरी तत्काल गण्डक अस्पतालमा नै पु¥याइयो ।

तबरेजले डा. उदयनारायण सिंहको समन्वयमा राति १ बजेनै मेडिकल कलेजको गेटमा पुगि उपचारको अभावमा छटपटाई रहेकी ती युवतीलाई अटो रिक्सामा राखेर गण्डकमा पु¥याएका थिए । तर उपचारको लागि अस्पतालभित्र पु¥याउँन नपाउँदै लामाको ज्यान गयो ।

लामाका श्रीमान विदेशमा छन् । ४ वर्षका बच्चासहित छपकैयामा डेरा लिएर बस्दै आएकी उनको स्वास्थामा समस्या भएपछि स्थानीयको सहयोगमा मेडिकल कलेज ल्याइएका थियो । स्थानीयको सहयोगमा उपचार गराउन खोजिए पनि मेडिकल कलेजले उपचार नगरिदिँदा अकालमै ज्यान गुमाउनु प¥यो ।

त्यसैगरी वीरगन्ज श्रीपुरका चलितर महतो बिरामी परेपछि उनलाई पनि उपचारका लागि बिहीबार बिहान मेडिकल कलेजमा लिएर जाँदा भर्ना नलिएका कारण गेटमै प्राण त्यागेको मृतकका भाइ शम्भु महतोले बताए ।

बिरामी लिएर मेडिकल कलेजमा जाँदा गेटमा खटिएका कर्मचारीले एमडीले भनेपछि मात्रै भित्र जान दिने भन्दै गेट भित्र प्रवेश गर्न दिएनन् । शम्भुले भने, ‘दाइको कोरोनाको नेगेटिभ रिपोर्ट देखाउँदा पनि मानेनन्, आधा घण्टासम्म हार गुहार गर्यौं तैपनि केही लागेन, दाइको मृत्यु भयो ।’

शम्भुका अनुसार, बुधबार राति महत्तोको दिशामा रगत देखिएको र श्वासप्रश्वासमा पनि समस्या भएपछि परिवारजनले उपचारका लागि बिहीबार बिहान मेडिकल कलेज लिएर गएका थिए ।
दुई दिनअघि हल्का ज्वरो र खोकी भएपछि महतोलाई मेडिकल कलेजमै लिएर जाँदा पीसीआर जाँचको रिपोर्ट लिएर आउनु भन्दै फर्काइएको थियो ।

त्यसपछि साउन ११ र १५ गते गरी २ पटक पीसीआर परिक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो । दुईवटा नेगेटिभ रिपोर्ट देखाउँदा समेत मेडिकल कलेजले महतोलाई भर्ना दिन मानेन् । अन्तमा गेट अगाडी नै उपचारको अभावमा महतोले प्राण त्यागे ।

बिहिबार राति नै वीरगन्ज ३ छपकैयाका अर्का एकजना विरामीलाई समेत मेडिकल कलेजले भर्ना लिन मानेन् । समयमै उपचार नपाउँदा उनले पनि बिहिबार राति नै ज्यान गुमाउनु प¥यो ।छपकैयाका जोखु साह सोनारलाई एम्बुलेन्स नपाएपनि जसोतसो गरेर मेडिकल कलेजको ईमरजेन्सी गेटसम्म पु¥याईएको थियो ।

चार दिन पहिला ज्वरो आएपनि ज्वरो ठीक भइसकेको थियो । साउन २२ गते राति अचानक बिरामीलाई स्वास प्रस्वासमा समस्या देखिपछि तत्काल एडभान्स अस्पतालको ईमरजेन्सीमा भर्ना गरियो । र उनको उपचार त्यहाँका चिकित्सकले शुरु पनि गरे तर उनको शरीरमा अक्सिजन मेन्टेन हुन सकेन ।

चिकित्सकले आईसियुमा राखेर उपचार गर्नुपर्ने र नेशनल मेडिकल कलेज अस्पताल आइसियु सुविधा रहेकोले त्यहाँ लैजान सुझाएपछि बिरामीलाई अटो रिक्सामा राखेर थप उपचारको लागि नेशनल मेडिकल कलेजमा पु¥याइएको थियो ।

सोनारलाई बिहिबार राति १२ बजे मेडिकलको ईमरजेन्सी कक्षको गेट अगाडि पु¥याउँदा मेडिकलकै चिकित्सक डा. सुनिल यादवले अपस्पतालका आइसियु कक्ष बन्द रहेको र अन्य सेवा समेत संचालनमा नरहेकोले भर्ना लिन नसक्ने बताउँदै फर्काएका वडा नम्बर ३ का वडाध्यक्ष बैजु स्वर्णकारले बताए । उनले भने, ‘मेडिकल कलेजेको ईमरजेन्सी गेटमा लैजादा त्यहाँका एकजना चिकित्सकले यहाँको आइसियू कक्ष बन्द रहेको र अन्य सुविधा दिन नसक्ने बताउँदै गेटबाट नै फर्काइ दिए ।’

बारम्बार गुहार लगाउँदा पनि कठोर बनेका मेडिकल कलेजले उपचार गर्न नमानेपछि त्यही अटोमा राखेर कोभिड अस्पतालमा पु¥याईएको थियो । कोभिड अस्तपतालका ईन्चार्ज डा. निरज सिंहसँग समन्वय गरेर उनको उपचारको लागि कोभिड अस्पतालमा पु¥याईएको थियो ।

तर कोभिड अस्पतालको ईमरजेन्सी कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको डा. निरज सिंहले जानकारी दिए । समयमै उपचार नपाएपछि उनको ज्यान गएको उनले बताए । ‘शरीरमा अक्सिजनको मेन्टेन हुन सकेको थिएन । यदी समयमै अक्सिजन दिएको भए ज्यान बच्न सक्थे,’ उनले भने ।

वडा अध्यक्ष स्वर्णकार भन्छन् ‘डा. निरज सिंहलाई समस्याबारे जानकारी गराएपछि कोभिड अस्पतालमै लिएर आउन भन्नुभयो । ड्युटीमा रहेका चिकित्सक स्वास्थ्यकर्मीले अक्सिजन दिएर बचाउनका लागि धेरै नै प्रयास गरे तर बाँच्नु भएन ।’

नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसेनले भने मेडिकल कलेजलाई बदनाम गराउन झुठो आरोप लगाइएको बताए । उनले भने, ‘पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आएका बिरामीलाई भर्ना गरेर उपचार गर्दै आएका छौं । गेटबाटै फर्काइएको आरोप झुठो हो । नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्धिन अन्सारीले भने आफूलाई यस विषयमा जानकारी नभएको बताए ।

स्थानीय प्रशासनको आदेशलाई धज्जी उडाउँदै खुलेयाम विरामी भर्ना नलिने जनाउँदा पनि मेडिकल कलेज विरुद्ध कारवाही गर्न सकिएको छैन । घटनाबारे तीन दिन भित्र स्पष्टीकरणको माग मात्र स्थानीय प्रशासनले गरेको छ ।

मेडिकल कलेजले चरम लापरवाही गरेका कारण सर्वसाधारणको ज्यान गएको भनि समाचार प्रकाशित भएसँगै स्थानीय प्रशासन र सरकारको चर्को आलोचना हुन थालेपछि बिहिबार नै स्थानीय प्रशासनले घटनाबारे सत्यतथ्य बुझन नेशनल मेडिकल कलेजसँग स्पष्टीकरणको माग गरेको छ ।

स्थानीय प्रशासनले देखावटी रुपमा स्पष्टीकरण बाहेक अन्य कारवाहीको लागि ठोस निर्णय समेत लिन सकेको छैन । यसअघि पहिलो चरणमा कोरोना संक्रमणको महामारी फैलिएपनि लकडाउनकै अवस्थामा बाराका एकजना युवकको उपचारमा चरण लापरवाही गरेका कारण ज्यान गएको थियो ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २२ दुधौराका २५ बर्षीय विजय कुशवाहाको थ्रेसरमा खुट्टामा गम्भीर घाउ लाग्दा ३५ वटा टाका लगाईएको थियो । अत्याधिक रक्तश्राव भएपनि थप उपचारको लागि मेडिकलमा भर्ना गरी उपचार भईरहेको थियो ।

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अचानक कोरोना संक्रमण लागेको आरोप लगाउँदै अमानविय व्यवहार गर्दै उपचार नै नगरी अस्पतालबाट बाहिर निकालेपछि थप उपचारको लागि काठमाण्डौं लैजाने क्रममा बाटोमा अकालमै ज्यान गुमाउनु परेको थियो ।

मृतकमा आफन्तले मेडिकल कलेजविरुद्ध किटानी जाहेरी दिदाँ समेत स्थानिय प्रशासनले कुनै कारवाही गरेन । घटना बारे सत्यतथ्य बुझन भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले स्पष्टीकरण माग गर्दै बोधार्थ संघ सरकार, स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । तर अहिलेसम्म त्यो घटनामा राज्य पक्षबाट कुनै सुनवाई भएन ।

त्यतिमात्र होईन गुणस्तरहीन उपचारको मामिलामा ख्यातिप्राप्त यो मेडिकल कलेजमा उपचार्थ मिर्गौला रोगीहरुको उपचारमा लापरवाही हुदाँ धमाधम मर्न थालेपनि स्थानिय प्रशासन वा सरकारले कुनैपनि कारवाही गरेन ।

सात हप्तामा सातजना मिर्गौलारोगीहरुको लगातार मृत्यु हुन थालेपनि पर्सावासीमा सन्त्रास नै फैलिएको थियो । कोभिड अस्पताल घोषणा लगत्तै नारायणी अस्पतालबाट स्थानन्तरण भई मेडिकल कलेजमा गएका विरामीहरुको नै मृत्यु हुन थालेपछि अस्पतालको सेवाप्रती ठूलो प्रश्न चिन्ह नै खडा भएको थियो ।

नेशनल मेडिकल कलेजमा स्थानान्तरण भई गएका मिर्गौलारोगीहरुको डायलोसिसमा चरम लापरवाही गरेका कारण नै मृगौला बिरामीहरु मर्न थालेको आफन्तले समेत आरोप लगाएका थिए । मृतक सात जनाकै परिवारले मेडिकल कलेज विरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर अहिलेसम्म त्यसमाथि पनि कुनै सुनवाई भएन ।

मेडिकल कलेजका एमडी बसरुदिन अन्सारीको पहँुच प्रधानमन्त्री केपी ओली शर्मासँग भएकाले जस्तो सुकै लापरवाही भए पनि सरकारले कुनै कारवाही गर्दैन् । उनी नेकपाका नेता समेत हुन् । पहुँचकै बलमा नेशनल मेडिकल कलेज कारवाहीमा परेको छैन् ।

जुनबेला मेडिकल कलेज विवादमा आउँछ तब स्वास्थ्य विभागबाट एउटा टोली छानविन गर्नको लागि वीरगन्ज पठाउने गरिएको छ । तर त्यो टोली मेडिकल कलेजकै गेष्ट हाउँसमा बसेर छानविन गर्छ । जसमाथि छानविन गर्नुछ त्यसकै गेष्ट हाउसमा बसेर उसकै दानापानी खाएर कतिको निश्पक्ष छानविन हुन सक्छ भने सहज अनुमान लगाउँन सकिन्छ ।
कोरोना संक्रमणको महामारी दिनप्रतिदिन फैलिए पनि वीरगन्जका ठूलो अस्पताल मध्ये वीरगन्ज हेल्थ केयर, गण्डक अस्पतालले कोभिड अस्पताल संचालन गर्न भनेको छ ।

मेडिकलले कोभिडको लागि अस्पताल दिन नमानेपनि वीरगन्जको एकमात्र सरकारी स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको नारायणी अस्पताललाई पनि कोभिड अस्पताल बनाई त्यहाँको सेवा मेडिकलमा हस्तान्तरण गरेको छ । तर यहाँका मृगौला पीडितले भन्छन् ‘मर्छौ बरु मेडिकल कलेजमा कुनैपनि हालतमा उपचार गराउँदैनाौँ ।’

मेडिकलका एमडी अन्सारीले स्वमं कोभिडको लागि अस्पताल उपलब्ध नगराउँने बताउँदै आएका छन् । पहिलो चरणको महामारी फैलिएको बेला कोभिड अस्पतालको लागि निशुल्क उपलब्ध गराउँने मिडियो बाजी गरेका अंसारी महामारी तिव्र रुपमा फैलिएसँगै अस्पताल नदिने घोषणा गरेपनि लाचार स्थानीय प्रशासन कारवाहीको लागि ठोस कदम चाल्न भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्