मोदी फेरि वाराणसीबाटै लोकसभा निर्वाचन लड्ने, आडवाणी र मुरलीले टिकट पाएनन्



नयाँ दिल्ली : भारतको आसन्न लोकसभा निर्वाचनका लागि भारतीय जनता पार्टीले उम्मेदवारको सूची सार्वजनिक गरेको छ । भाजपाले लोकसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारको पहिलो सूची जारी गरेको हो । बिहीबार भारतीय जनता पार्टीका वरिष्ठ नेता जेपी नड्डाले उम्मेदवारको सूची सार्वजनिक गरेका हुन् ।

भाजपाका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी पुनः  वाराणसीबाट लोकसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् भने अध्यक्ष अमित शाह गान्धी नगरबाट चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

लखनउबाट गृहमन्त्री राजनाथ सिंह, अमेठीबाट स्मृति इरानी, गाजियाबाट विदेश राज्यमन्त्री जनरल भीके सिंह चुनाव लड्नेछन् । यसपटकको सिट बाँडफाँडमा विधानसभा निर्वाचनमा आएको परिणामलाई खास ध्यान दिइएको छ भने चुनावमा पार्टीको प्रदर्शनलाई पनि ख्याल गरिएको छ । भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी गान्धीनगरबाट सांसद छन् । आगामी चुनावका उम्मेदवारको सूचीमा आडवाणीको नाम छैन ।

सूची सार्वजनिक गर्दै नड्डाले यसबारेमा केही बताएनन् । तर उनको नाम सूचीबाट काटिएको अनुमान गरिएको छ । वरिष्ठ नेता तथा पूर्वअध्यक्ष मुरली मनोहर जोशीकाे नाम पनि सूचीमा अटाएको छैन । 

अमेठीबाट चुनाव लड्न लागेकी स्मृति इरानीको प्रतिस्पर्धी काँग्रेस अध्यक्ष राहुल गान्धी हुनेछन् । हेमा मालिनी मथुराबाट चुनावी मैदानमा उत्रिनेछिन् । केन्द्रीय संस्कृति मन्त्री महेश शर्मा नोएडाबाट नै चुनावमा उठ्ने छन् ।

उत्तर प्रदेशबाट सांसद रहेका वरुण गान्धी र मेनका गान्धीको नाम यो सूचीमा छैन । वरुण सुलतानपुरबाट र मेनका पीलीभीतबाट सांसद छन् । केन्द्रीय मन्त्री नितिन गडकरी नागपुरबाट नै चुनावमा भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्