नेकपामा केन्द्रदेखि जिल्लासम्म समानान्तर गतिविधि : विभाजनको खतरा बढ्दो



काठमाडौं : अन्तर संघर्षले चंगुलमा फसेको सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी (नेकपा)भित्र समानान्तर गतिविधिले प्रसय पाएको छ ।

नेकपाका शीर्ष नेताहरूकै अगुवाइ र निर्देशनमा केन्द्रदेखि तल्लो तहसम्म गुट भेला र समानान्तर गतिविधिहरू भइरहेको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली गुटका नेताहरूको सक्रियतामा जिल्लाजिल्लामा मदन भण्डारी फाउण्डेसनको नाममा गुट भेला भइरहेको छ ।

ओलीनिकट बागमती प्रदेश कमिटीका सचिव तथा केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेल र अर्का केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको सक्रियतामा उपत्यकाभित्र यस्ता गतिविधि जारी छन् ।

बागमती प्रदेश सचिव पोखरेलको संयोजनमा उपत्यकाका तीनवटै जिल्ला र काभ्रेमा तत्कालीन एमालेनिकट प्रदेश र जिल्ला कमिटीका नेताहरूको गुट भेला धमाधम भइरहेको छ ।

२१ साउनमा ललितपुरबाट प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने तत्कालीन एमालेका ९ मध्ये ७ जना सदस्यलाई बोलाएर पोखरेल र श्रेष्ठले मदन भण्डारी फाउण्डेसनका नाममा टोल कमिटी बनाएर समानान्तर गतिविधि गर्न निर्देशन दिएका छन् । उक्त गतिविधि अन्य प्रदेशमा पनि विस्तार हुने क्रम जारी छ ।

यता अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूह केन्द्रमा समान्तर गतिविधिको झल्को दिनेगरी गुटगत भेलामा व्यस्त छ । ओलीले स्थगित गरेको स्थायी कमिटी बैठक संचालनदेखि पत्रकारसँगको भेटघाटले नेकपा दुई किनाराको परिदृष्य देखिएको छ ।

दाहाल, झलनाथ खनाल, वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले राजधानीको थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा केही सञ्चारमाध्यमका पत्रकारहरूसँग अनौपचारिक भेट गर्दै पार्टीभित्रको पछिल्लो विवादको सतहमा ल्याएका थिए ।

सहमति खोज्नका लागि बैठकको तयारी गरिरहँदा दाहाललगायत नेताले पत्रकार भेटघाट गरेपछि ओली रुष्ट बनेको छ । दाहालसहित बस्ने भनिएको बैठक रोकिएको छ ।

भेटघाटपछि रुष्ट ओली र उनी पक्षका नेताहरूलाई शुक्रबार बिहान अर्को त्यस्तै खबरले झन् चिढ्याएको छ ।

गत साउन १३ गते अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरिदिएपछि बहुमत सदस्यले बालुवाटारमै आफ्नो पक्षको बैठक गरे । त्यही बैठकपछि टुटेको संवाद जोड्न यो बीचमा ओली, दाहाल, खनाल र नेम्वाङबीच दुईवटा बैठक बसे ।

तेस्रो बैठक नबस्दै पत्रकार भेटघाटको विवाद सुरु भएपछि ओली र दाहालबीच तीन दिनयता टेलिफोन संवाद पनि भएको छैन । दुवै पक्षबीच कुन कमिटीको बैठक बोलाउने भन्नेमै विवाद छ ।

प्रधानमन्त्री ओली विवाद समाधानको दिशामा जाने हो भने सबै कुरा सचिवालयमा छलफल गर्ने, त्यसपछि स्थायी कमिटीमा जानुपर्ने पक्षमा छन् ।

तर दाहालसहितका बहुमत पक्षका नेताहरू गत साउन १३ गते बालुवाटारमा भएको स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

दुबै पक्ष आआफ्नो अडान कायम छ । सहमतिभन्दा पनि दुबै पक्ष समान्तरगतिविधिमा केन्द्रित देखिन्छ । यो बढ्दै जाँदा पार्टी विभाजनको रेखा पनि कोरिँदै जाने खतरा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्