बिहानै मासु ल्याउन घरबाट निस्केका युवककाे ट्र्याक्टरले लियाे ज्यान



जनकपुरधाम : जनकपुरमा एक युवककाे ट्रयाक्टरकाे ठक्करबाट मृत्यु भएकाे छ । साेमबार बिहान ८ बजे मासु किन्न गएका जनकपुर उपमहानगरपालिका- १० का ६५ वर्षिय विश्वनाथ नायकका ३२ वर्षिय छोरा संदीप नायकको ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु भएको हो ।

 

जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत वडा नम्बर १४ स्थित मुजेलियामा ज २ त ११३ नम्बरको ट्रयाक्टरले नायक सवार ज ९ प ६१३३ नम्बर स्कुटरलाई ठक्कर दिएको हो ।

 

ढल्केवर तर्फबाट जनकपुर आउँदै गरेको ट्रयाक्टरले बाटो क्रस गर्दै गरेको स्कूटरलाई ठोकेको थियो । घाइते नायकको अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।

 

स्कुटर चालक ३० वर्षीय राकेश साहको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ । साह खतरामुक्त रहेको अस्पताल स्राेतले जानकारी दिएको छ ।

 

धनुषा ट्राफिकका प्रमुख दीपक साहका अनुसार ट्र्याक्टर प्रहरी नियन्त्रणमा छ तर चालक फरार भए पनि ट्रयाक्टर धनी प्रहरी सम्पर्कमा रहेको साहले बताए ।

 

मृतक नायकलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

 

जनकपुरधाम देवी चाेक घर भएका मृतक नायक चिकित्सा(फिजियाे थेरापिष्ट) क्षेत्रका विद्यार्थी भएकाे उनका छिमेकी सुधीर सिंहले द नेपाल टपलाई जानकारी दिए । छिमेकी सिंहका अनुसार तीन महिना पहिले  मृतकको बिहे विएससी नर्सिङ गरेकी केटीसँग भएको थियो । जवान छोराको मृत्यु पश्चात अहिले नायक परिवार गहिरो शाेकमा परेको छिमेकी सिंहको भनार्इ छ ।

प्रतिक्रिया दिनुहोस्