थारुहट/थारुवानद्वारा देशव्यापी आन्दोलन घोषणा, कोरोनाले नरोक्ने



कैलाली : राज्य पुनर्संरचनासहित ११ प्रदेशको मागसहित आन्दोलन गर्दै आएको थारुहट/थारुवान राष्ट्रिय मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी देशव्यापी विरोधसभादेखि सशक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा साउन २५ मा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २ मा मानव अधिकार तथा नागरिक अगुवाहरुसँग धनगढीमा बृहत् अन्तर्क्रिया गर्ने, भदौ ७ मा टीकापुर थारुहट विद्रोहलाई स्मरण गर्दै देशव्यापी विरोधसभा गर्ने कार्यक्रम रहेको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बताए ।

यस्तै, भदौ ८ मा टीकापुरमा भएको थारुहरुको घर पसल, व्यावसायिक केन्द्र, सञ्चारगृहमा भएको आगजनी, तोडफोड, लुटपाट एवं प्रशासनविरुद्ध कालो दिनको रुपमा देशव्यापी विरोध प्रर्दशन गर्ने, असोज ३ मा नेपालको संविधानको विभेदकारी धाराहरु काठमाडौंसहित देशव्यापी रुपमा जलाउने र माग पूरा नभए दशैं तिहारपछि सशक्त रुपमा आन्दोलन गर्ने मोर्चाले जनाएको छ ।

२०७२ भदौ ८ मा कैलालीको टीकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने मोर्चाको मुख्य माग छ । टीकापुर घटनामा दोषी ठहरिएका सासंद रेशम चौधरीलगायत अन्य १० जनालाई तीन महिनाभित्र स–सम्मान रिहाई गर्नुपर्ने मोर्चा माग राखेको छ । यस्तै, उनीहरुलाई रिहाई नगरिए वर्तमान सरकारका मन्त्रीहरु र उनी निकट सासंदहरुलाई थारुहट क्षेत्रमा प्रवेश निषेध र सामाजिक बहिष्कार गर्ने मोर्चाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्