कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु



काठमाडौंः नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षिया महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षिय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी मोरङको वीराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका बिरामी थिए । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्