बेल्जियम, नेदरल्याण्ड्स र क्रोएसियाको विजयी सुरुवात



एजेन्सी : सन् २०२० मा युरोपका १२ सहरमा हुने युरोकप फुटबलको छनोट चरणका खेलहरु सुरु भएका छन्। समूह सीबाट नेदरल्याण्ड्स र समूह आईबाट बेल्जियमले जित निकाल्दै सुखद् सुरुवात गरेका छन्।

२०१८ को विश्वकप आयोजक तथा केही वर्षयता सशक्त रुपमा उदाएको रुस बिहीबार राति भएको खेलमा बेल्जियमसँग ३–१ ले पराजित भयो। त्यस्तै विश्वकप खेल्न नपाएको नेदरल्याण्ड्सले बेलारुसलाई सहजै ४–० ले हरायो। इड हाजार्डले बेल्जियमका लागि २ गोल गरे। खेल सुरु भएको १४औं मिनेटमै योरी टेलिम्यान्सले बेल्जियमलाई अग्रता दिलाएका थिए। उनको यो पहिलो अन्तर्राष्टिय गोल हो। तर, त्यसको दुई मिनेटपछि नै बेल्जियम तथा रियल मड्रिडका गोलरक्षक थियावट कोर्टवाको गल्तीमा ड्यानियर चेरिसेभले रुसका लागि बराबरी गोल फर्काए।

पहिलो हाफको अन्त्यतिर हाजार्डले गोल गरेपछि बेल्जियमले पुनः अग्रता बनायो। उनले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए। हाजार्डको यो २८ औं अन्तराष्ट्रिय गोल थियो। खेलको अन्त्यतिर गोल गरी हाजार्डले अन्तर्राष्ट्रिय गोल संख्या २९ बनाए। उनले ८८ औं मिनेटमा बात्सुयीको पास सदुपयोग गरेका थिए। त्यसको एक मिनेटपछि नै रुसका अलेक्जान्दर गोलोभिन दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि रुसले १० खेलाडीमा खेल टुंग्याएको थियो।

नेदरल्याण्ड्सले बेलारुसलाई ४–० गोलले हराउँदा मेम्फिस डिपेले सानदार प्रदर्शन गरे। उनले २ गोल गरे भने २ गोलका लागि बल उपलब्ध गराए। उनले खेलको पहिलो मिनेटमै गोल गरी सुरुआती अग्रता दिलाएका थिए भने ५५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। २१ औं मिनेटमा जर्जिनो विन्जलदमले गोल गर्दा पनि डिपेले नै पास उपलब्ध गराएका थिए। ८६औं मिनेटमा भिर्गिल भान डाइकले गोल गर्दा पनि उनैले पास दिएका थिए। 

बिहीबार राति भएका अन्य खेलमा समूह ईबाट विश्वकप उपविजेता क्रोएसियाले अजरबैजानलाई २–१ गोलले हराउँदा बोर्ने बेरिसिच र आन्द्रेज कार्मारिचले गोल गरे। यही समूहमा स्लोभाकियाले हंगेरीलाई २–० गोलले पराजित ग‍¥यो।  समूह जीबाट मेसेडोनियाले लात्भियालाई २–१ गोलले हराउँदा इजरायल र स्लोभेनियाले १–१ को बराबरी खेले । अष्ट्रिया भने पोल्याण्डसँग १–० गोलले पराजित भयो।

प्रतिक्रिया दिनुहोस्