युभेन्टसद्वारा प्रशिक्षक सार्री बर्खास्त



काठमाडौंः इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको २४ घण्टा नबित्दै प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको छ ।

युभेन्टस च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा लियोनसँग २-२ को बराबरी खेलेपछि अवे गोलको आधारमा प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो लेगमा १-० को हार बेहोरेको युभेन्टसले घरेलु मैदानमा शुक्रबार २(१ को जित दर्ता गरेपनि अगाडि बढ्न सकेन । युभेन्टसको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।

सिजनको सुरुवातमा चेल्सी छोडेर युभेन्टस आएका सार्रीले च्याम्पियन्स लिगमा खराब प्रदर्शन गर्नु नै बर्खास्तीको मुख्य कारण रहेको बुझिएको छ । सार्रीको नेतृत्वमा युभेन्टस इटालियन सुपर कप र कोप्पा इटालिया दुवै प्रतियोगिताको फाइनलमा पराजित भएको थियो । युभेन्टसले अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई विकल्पका रुपमा हेरेको बुझिएको छ ।

इटालीमा लिग उपाधि जितेपनि युभेन्टसले लिगका अन्तिम खेलतिर भने लय गुमाएको थियो । कोरोना संक्रमणपछि लिग सुरुवात हुँदा सुरुवाती खेलमा राम्रो प्रदर्शन गरेको युभेन्टसलाई उपाधि होडमा रहेका अन्य क्लबको खराब प्रदर्शनले निकै सहयोग पुग्यो । तर लिगको अन्तिमतिर भने युभेन्टसले पनि आफ्नो लय गुमायो । अन्य टोलीले पनि युभेन्टसको गल्तिको फाइदा उठाउन नसक्दा लिग उपाधि टुरिनमै रहन पुगेको थियो ।

युभेन्टसले लिगका २ खेल बाँकी रहँदा उपाधि पक्का गरेको थियो । लिगको पछिल्लो ८ खेलमध्य टोलीले जम्मा २ खेलमा जित हासिल गर्यो । साम्पडोरियाविरुद्ध जुलाई २६ मा २-० को जितसँगै उपाधि पक्का गरेको युभेन्टसले त्यसपछि काग्लियारी र एएस रोमासँग लगातार हार बेहोरेको हो ।
उपाधि जित्ने क्रममा युभेन्टसले लिगको ३८ खेलमा ८३ अंक जोड्यो । यो पछिल्लो एक दशकमा युभेन्टसले जोडेको सबैभन्दा कम अंक हो । पछिल्लो ८ सिजन उपाधि जित्दा डिफेन्समा बलियो देखिएको युभेन्टसका लागि यसपटक भने ४३ गोल खाँदै सबैभन्दा खराब सिजन रहयो । टोलीको यस सिजनको गोलअन्तर, +३३ पनि सबैभन्दा कम हो ।

यसबाहेक युभेन्टसले लिग अवाधिभर ७ पटक हारको सामना गर्नुपर्यो । विगत ८ वर्षमा युभेन्टसको नतिजा यति खराब रहेको थिएन । उपाधि जित्दा पनि टोलीले आफ्नो निकटतम प्रतिद्वन्द्वीसँग फराकिलो अग्रता कायम गरेको थियो, यस सिजन भने इन्टर मिलान मात्र १ अंक पछाडी रहेर उपविजेता बन्यो ।युभेन्टसले यस सिजन अग्रता लिएको अवस्थाबाट २१ अंक गुमायो उपाधि जित्ने टोलीले यस्तो अवस्था भोगेको यो कीर्तिमान पनि हो । यसअघि सन् १९८२(८३ सिजनमा रोमाले उपाधि जित्दा २० अंक अग्रता लिएको अवस्थामा गुमाएको थियो । एजेन्सी

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्