नागरिक लगानी कोषले बचत तथा कर्जाको ब्याजदर घटायो



काठमाडौंः नागरिक लगानी कोषले विभिन्न बचत तथा कर्जा सापटी योजनाको ब्याजदर परिवर्तन गरेको छ ।

कोषमा रकम कट्टि गर्ने बचतकर्ताहरुको हकमा न्यूनतम ५.५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म र कर्जा सापटी लिनेहरुको हकमा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम ९.५ प्रतिशतसम्म ब्याजदर कायम गरेको गरेको छ ।

कोषले सबैभन्दा कम ब्याजदर सावधिक बीमा कोषमा कायम गरेको छ । निजामति, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको बीमा कोषमा ५.५ प्रतिशत ब्याज दिने जनाएको छ ।

लगानीकर्ता अवकाश कोष र उपदान योजनमा ६ प्रतिशत ब्याजदर कायम गरिएको छ । कर्मचारी बचत वृद्धि अवकाश कोषका लागि ६.५ प्रतिशत ब्याजदर कायम गरिएको छ। बचततर्फ सबैभन्दा धेरै नागरिक एकांक योजना व्यक्तिगत र संस्थगत दुवैमा ७ प्रतिशत ब्याजदर कायम गरिएको छ ।

त्यस्तै कोषले लिने विभिन्न कर्जाको ब्याजदरमा लगानीकर्ता अवकाश कोष योजना र कर्मचारी बचत वृद्धि अवकाश योजनामा ८० प्रतिशत सम्म कर्जा सापटीमा ८ प्रतिशत ब्यादजर कायम गरेको छ । आवास कर्जामा ९ प्रतिशत ब्याजदर तोकेको कोषले सबैभन्दा धेरै सरल र शैक्षिक कर्जामा ९.५ प्रतिशत ब्याजदर तोकेको छ ।

यी योजनाहरुको ब्याजदर केही योजनामा साउन १ र १६ गतेदेखि नै परिवर्तन भइसकेको छ भने, बाँकी योजनामा आउँदो भदौ १ गते देखि ब्याजदर परिवर्तन हुने कोषले जनाएको छ । लगानीकर्ता अवकाश कोष कर्जाको ब्याजदर साउन १ गतेदेखि नै घटाएको कोषले अरु सबै कर्जाको ब्याजदर भदौ १ गतेदेखि घटाउने छ । बचततर्फ भने सावधिक जीवन बीमा र बचत वृद्धि अवकाश कोष बाहेक सबै योजनाको ब्याजदर घटाइ सकेको छ ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्