नआत्तिनुहोस्, ७२ प्रतिशत संक्रमित निको भइसके



काठमाडौं : राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ। ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन्। जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन्। १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन्।

मुलुकमा कोरोना संक्रमण ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य छ। संक्रमण मुक्त भई पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने ४ सय ९९ जना छन्। यहाँसम्म आइपुग्दा संक्रमितभन्दा डिस्चार्ज हुनेको संख्या बढी भइसकेको छ। केहीअघिसम्म निको हुनेभन्दा संक्रमित बढी थिए।

असार १ गते १ हजार ४१ संक्रमित निको भई डिस्चार्ज भएका थिए। त्यसको दुई साताभित्र निको हुनेको संख्या दोब्बर वृद्धि भएको थियो। असार १५ गते ३ हजार १ सय ३४ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। असार २८ गतेसम्ममा ८ हजार १ सय ४७ जना संक्रमणपछि डिस्चार्ज भएका थिए। जब कि त्यस दिनसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय ८९ थियो।

कुनै न कुनै स्वास्थ्य समस्या भएका र पहिलादेखि नै औषधि सेवन गरिरहेका व्यक्तिको मात्र कोरोना संक्रमणपछि ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन्। ‘रोग प्रतिरोधात्मक क्षमता अति न्यून भएकाको मात्र कोरोनाका कारण ज्यान जाने सम्भावना देखिएको छ’, डा. राजभण्डारीले भने।

साउन पहिलो साता पुग्दा भने कोरोना संक्रमणभन्दा डिस्चार्ज हुनेकै संख्या धेरै भइसकेको थियो। साउन १ गतेको विवरणअनुसार ६ हजार ५६ जना सक्रिय संख्या छ। त्यस अवधिमा ११ हजार २ सय ४९ जना निको भएका थिए। साउन १५ गते निको हुनेको संख्या १२ हजार ६ सय ८४ थियो।

स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारीका अनुसार असार २८ देखि सक्रिय संक्रमितभन्दा निको हुने दर बढेको हो। पीसीआर जाँचमा पोजेटिभ देखिएको र पोजेटिभ नै रहेको (निको नभइसको) अवस्थालाई सक्रिय केस भनिन्छ। डा. तिवारी भन्छन्, ‘सक्रिय केस पनि बढिरहेका छन्। कसरी घटाउने भन्ने सरकारको चुनौती हो।’

१६ हजार डिस्चार्ज

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ९ सय ४२ छ। प्रदेश २ बाट तीन हजार ३ सय २६ र बाग्मती प्रदेशबाट ६ सय। यसैगरी गण्डकी १ हजार ४ सय ४१ र प्रदेश ५ बाट चार हजार १ सय ७९ डिस्चार्ज छन्। कर्णाली प्रदेशमा १ हजार ८ सय ७ र सुदूरपश्चिममा ३ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन्।

सातैवटा प्रदेशबाट १६ हजार ३ सय १३ जना निको भइसककेका छन्। मुलुकमा चार लाख ३५ हजार २ सय ८९ पीसीआर परीक्षण भएको छ। क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना छन्। शनिबार मुलुकभर उपचारका क्रममा रहेका संक्रमितको संख्या ६ हजार २ सय ६ छ।

होम आइसोलेसनलाई प्राथमिकता

संक्रमितको संख्या वृद्धिपछि स्वास्थ्य मन्त्रालयले उपचारका लागि होम आइसोलेसनलाई प्राथमिकतामा राखेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमणको कुनै लक्षण वा चिह्न नभएका (एसिम्टोमेटिक) र सामान्य लक्षण भएका तथा चिह्न भएका (माइल्ड) व्यक्तिहरू आआफ्नै घरमा आइसोलेसनमा बस्न सक्नेछन्।

घरको आइसोलेसनमा बस्न मञ्जुरीनामा दिनुपर्ने मापदण्ड छ। संक्रमित आफ्नै घरमा बस्न चाहेमा स्वयंले पालन गर्नुपर्ने पक्षबारे अनूसूची तयार पारिएको छ। पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा संक्रमित बस्नु पर्नेछ। उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक पर्ने सामानहरू परिवारका सदस्यबाट मगाउने गर्नुपर्छ।

खानपानमा विशेष सावधानी अपनाई पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खाना खाने गर्नुपर्छ। आफूले प्रयोग गरेका भाँडा सुरक्षित रूपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गर्ने गर्नुपर्छ। स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्छ।

त्यस्तै हात धुने बेसिन संक्रमणको स्रोत हुने भएकाले दाँत माझ्ने ब्रसलगायत सामान बेसिनबाहेक छुट्टै स्थानमा राखेर प्रयोग गर्नुपर्ने डा. गौतमले जानकारी दिए। ‘ढोका, ढोकाका ह्यान्डल, टेबल तथा अन्य सामग्री जुन धेरै व्यक्तिले चलाउने वा छुने सम्भावना हुन्छ; ती सामानको नियमित डिसइन्फेक्सन गर्नुपर्छ’, उनले भने। अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्