कांग्रेसले १४ औं महाधिवेशनको मिति सार्दै, शीर्ष नेता सहमत



काठमाडौं : नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको मिति सार्ने निश्चित भएको छ । आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्न शीर्ष नेताहरु सहमत भएको बुझिएको छ ।

कांग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने नेताहरु तयार भएका हुन् ।

कांग्रेस सहकहामन्त्री प्रकाशशरण महतका अनुसार महाधिवेशन सार्ने विषयमा शीर्ष नेताहरुबिच करिब करिब सहमति भएको छ ।तर, महाधिवेशन सारेर ०७८ जेठ कि भदौमा गर्ने भन्ने टुंगो लागेको छैन ।

‘पछिल्लो पटक तल्ला तहका अधिवेशनका मिति हेरफेर गर्दा नै महाधिवेशनको मिति पनि हेरफेर गर्ने विषयमा केन्द्रीय समितिमा कुरा उठेको हो । त्यस बखत तल्ला तहका मात्रै हेरफेर भयो तर अहिले जेठ वा भदौमा गर्ने गरी शीर्ष तहमा छलफल हुँदै छ,’उनले भने ।

कांग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

कांग्रेस पदाधिकारीसहित पूर्वपदाधिकारीको गत बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलमा महाधिवेशनका लागि अहिलेसम्म भएका कामकारबाहीका सम्बन्धमा ब्रिफिङ गरिएको थियो ।

छलफलमा क्रियाशील सदस्यतालाई समेत दोब्बर बनाउने सहमति पनि भएकोछ । जसअनुसार कांग्रेसको सदस्यता वितरण, नवीकरण र छानबिनको प्रक्रिया अझै लम्बिने निश्चित छ ।

जारी कार्यतालिकाअनुसार सदस्यता वितरण साउन मसान्तसम्म मात्र तोकिएको छ । यस्तै, कांग्रेसले सदस्यता छानबिन गर्न अझै समिति बनाइसकेको छैन ।

पार्टीको नयाँ विधान अनुसार पार्टी संरचना निर्माण हुन नसक्दा समायोजनको कामसमेत कांग्रेसले सकेको छैन । विधानअनुसार केन्द्रदेखि बुथ तहसम्म आठ तह छन् ।

कांग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।

पछिल्लो पटक संगठन समायोजनको काम १५ साउनसम्मा सक्ने भनिएको थियो । त्यसअघि १५ असारभित्र नै अन्तरिम संरचना समायोजनको सबै काम सक्ने भनिएको थियो ।

कांग्रेसले २१ असारको केन्द्रीय समिति बैठकबाट १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तल्ला तहका अधिवेशनको मितिसमेत परिमार्जन गरेको थियो ।

कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम साउन मसान्तभित्र सकेर भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन गरेको थियो ।

यसरी आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ ।

यस्तै, ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने भनिएको थियो ।

यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेसले तेस्रो पटक मिति संशोधन गर्दै गरिसकेको छ ।

२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।

अझै पनि संविधानमा भएको विशेष अवस्थाको व्याख्याअनुसार देउवाले अन्तिम पटक ६ महिना कार्यकाल थप गर्न सक्नेछन् । त्यही अनुसार गृहकार्य भइरहेको छ ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्