कहिले सुध्रिन्छन् सार्वजनिक शौचालय ?



काठमाडौं : कोटेश्वर बस्दै आएकी मनीषा बरुवाललाई कतै घुम्न जानु पर्दा वा कोठाबाट बाहिर निस्कँदा तनाव हुन्छ, शौचालय जान परे कहाँ जाने ? एक त सार्वजनिक ठाउँमा शौचालय छैनन्, भएका पनि जानै नसकिने फोहोर छन्। 

‘एक दिन थानकोट जाने बेला पुरानो बसपार्कको शौचालय गएँ’, उनले भनिन्, ‘यति धेरै फोहोर थियो कि मास्क लगाएर पनि बस्न सकिनँ र त्यतिकै थानकोट गएँ।’ यो उनको मात्र नभएर काठमाडौंमा बस्ने सबैको साझा समस्या हो। 

विवेक लम्साल पनि शौचालय जानु परे कहिले अस्पताल खोज्दै हिँड्छन् त कहिले चियाकफी पिउने वहानामा होटल वा रेस्टुरेन्ट पस्न बाध्य हुन्छन्। किनभने काठमाडौंमा शौचालय सर्वसुलभ छैनन्। 

‘भएकामा पनि पर्याप्त पानी र सरसफाइ छैन। पैसा तिरेर पनि शौचालय जान पाइन्न’, उनी भन्छन्, ‘सम्बन्धित निकायले धेरै भिड हुने ठाउँमा खाली सार्वजनिक जग्गामा व्यवस्थित शौचालय बनाउन आवश्यक छ।’ सार्वजनिक शौचालय पस्दा उल्टी हुने, सासै फेर्न सकिन्न। 

४५ वर्षकी फूलमाया तामाङले पनि यो समस्या धेरैपल्ट खेपिसकेकी छन्। एक दिन कतै गएका बेला उनलाई पिसाबले साह्रै च्याप्यो तर वरिपरि कतै शौचालय पाइनन्।

त्यसपछि उनी छेउको एउटा घरभित्र पसिन् र सोधिन्, ‘कोठा खालि छ कि ?’ केहीबेरपछि ट्वाइलेट कहाँ छ भनेर सोधिन्। ‘यसरी कति दिन सम्भव छ ?’, उनी प्रश्न गर्छिन्। 

यता काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने महानगर सार्वजनिक शौचालय व्यवस्थापनमा निरन्तर लागिरहेको दाबी गर्छन्। उनी भन्छन्, ‘अबको बजेटमा शौचालय निर्माण गर्न रकम छुट्याउँछौं। अब व्यवस्थित गर्छाैं।’

काठमाडौं महानगरपालिकाभित्र ४७ सार्वजनिक शौचालय छन्। तीमध्ये अधिकांश शौचालयको अवस्था दयनीय छ। उचित व्यवस्थापन नगर्दा सर्वसाधारण सास्ती भोग्न बाध्य छन्।

अधिकांश शौचालयमा पानी छैन, बत्ती, हात धुने साबुन छैन, ढोकामा चुकुल छैन त कुनैमा प्वाल परेको छ।

शौचालयमा पिसाब फेरेबापत ५ र दिसा गर्न १० रुपैयाँ तिर्नुपर्छ। यो शुल्क सेवासुविधा उपलब्ध गराएबापत हो।

शुल्क मात्र लिने सेवासुविधामा भने ध्यान नदिने प्रवृत्ति देखिएको छ। अधिकांश सार्वजनिक शौचालय नाकमुख बन्द गरी प्रयोग गर्नुपर्ने अवस्थामा छन्। 

पछिल्लो समय महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्ने जनाएको छ। कामपाका प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा कार्यदल पनि गठन गरेको छ। 

महानगरले दुई वर्षअघि नै ४१ स्थानमा स्मार्ट शौचालय बनाउने भने पनि काम अघि बढेको छैन। स्मार्ट शौचालय बनाउन ठाउँ पहिचान गर्ने, स्थानअनुसार डिजाइन गर्ने, प्रस्ताव विश्लेषण गर्ने, निर्माण र सञ्चालनसम्बन्धी निर्णय गर्न समितिलाई जिम्मेवारी दिइएको छ। 

दुई तीन घण्टाभन्दा धेरै बेर पिसाब रोक्दा अनेकौं स्वास्थ्य समस्या आउनसक्ने चिकित्सकहरू बताउँछन्। यसरी पिसाब रोक्दा मिर्गौलामा पत्थरी, मूत्र नलीमा संक्रमण, पिसाब थैली सुन्निनेलगायत समस्या हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्