मङ्गलबारसम्म वर्षा हुने सम्भावना



काठमाडौँ : मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजिक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ ।

मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिÞरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज अपराह्न देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ४ र अधिकतम तापक्रम ३० दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव ३ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ८ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस्