साफ फुटबल जिते प्रदेशले जनही २ लाख दिने



विराटनगर : प्रदेश १ सरकारले पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जिते नेपाली टिमका खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ । शुक्रबार बिहान विराटनगरमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले उपाधि रक्षा गर्न सके नेपाली खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको हो । 

मुख्य मन्त्रीका प्रेस सल्लाहकार धु्रब सुवेदीले उपविजेता मा सीमित रहेपनि नेपाली खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको जानकारी दिए । ‘नेपालले उपाधि जिते नेपाली टिममा आबद्ध खेलाडीले जनही २ लाख रुपैयाँ पाउने छन्,’ उनले भने, ‘यदि उपविजेता मै खुम्चिनु पर्ने अवस्था आयो भने पनि जनही १ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ ।’ 

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले खेलाडीलाई हौसला प्रदान गर्न प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने निर्णय गरेको जानकारी दिए । उनले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको पनि बताए । 

सरकारको यो निर्णय गरेसँगै खेलाडीको मनोबल थप उच्च भएको नेपाली टिमका प्रशिक्षक हरि खड्काले बताए । ‘हामी जसरी भए पनि उपाधि घर भित्रै राख्ने लक्ष्यका साथ मैदानमा जान्छौँ । त्यही हिसाबको तयारी खेलाडीको छ,’ उनले भने, ‘यस अघि तीन पटकसम्म साफको फाइनलमा भारतसँगै बेहोर्नु परेको पराजयको नमिठो बदला लिने अवसरका रूपमा पनि पाँचौँ साफको फाइनललाई सदुपयोग गरिने छ ।’ घरेलु मैदान, दर्शकको समर्थन र खेलाडीको उच्च मनोबल एवं उत्कृष्ट प्रदर्शन नेपाली टिमको जितका मुख्य आधार भएको प्रशिक्षक खड्काले बताए । 

विराटनगरमा फागुन २८ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल शुक्रबार दिउँसो ३ बजे सहिद रङ्गशालामा हुँदैछ । जसमा नेपाल र भारतबीच पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्