पर्सामा ९ प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण



पर्सा : पर्सामा ९ प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा ९ प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण भएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले पुष्टि गरेका हुन् । संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका हुन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८ जना संक्रमितमा ज्वरो र खोकीका लक्षण छन् । ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजेटिभ देखिएका हुन् । पैसा तिरेर परीक्षणका लागि आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

महानगरपालिका स्वास्थ्य प्रमुख अरुण महतोले यसअघि संक्रमित पुष्टि भइसकेका वीरगञ्जका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाको निरन्तर सम्पर्कमा रहेर काम गरेका बताए । नारायणी अस्पतालका तीन जना स्टाफमा पनि संक्रमण देखिएको छ ।

शनिबार राति गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले बताए । यसैगरि वरुणयन्त्रका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यसैगरी ७ जना संक्रमित वीरगञ्जको गणेश टोलका बासिन्दा हुन् ।

अन्य संक्रमित वीरगञ्जको लिंकरोड, राधेमाई, नगवा, घडीअर्वा, महावीर टोल, कुम्हाल टोल, भिस्वा, पटेलनगर, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्यांकी, पिपरा, श्रीपुर, मुर्लीका बासिन्दा हुन् । साथै पर्साको पकाहामैनपुर गाउँपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अमरपट्टीका ३ जना र बहुदरमाई नगरपालिका–७ का एकजनामा कोरोना देखिएको छ । साउनयता पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्