पार्टी एकता बचाउन नेकपा सांसदहरू हस्ताक्षर संकलन अभियानमा



काठमाडौं : डेढ महिनायता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वमै आरोप–प्रत्यारोप र अविश्वास चुलिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एकअर्कामा शक्ति संघर्षकै कारण सिंगो पार्टी पंक्ति विभाजित छ । तर, नेकपाका सांसदहरु पार्टी एकता बचाउन दवाव दिने अभियानमा जुटेका छन् ।

सांसदहरुले हस्ताक्षर संकलन गरी दलका शीर्ष नेताहरुलाई बुझाउने अभियान थालेका छन् । पार्टीभित्रको आन्तरिक संकट गहिरिँदै गएको र पार्टीको एकता जोगाउनका लागि दवावमूलक अभियान थालेका छन् ।

६ दर्जन सांसदहरुले हस्ताक्षर गरिसकेको सांसद गणेश पहाडीले जानकारी दिए । यस अभियानमा अध्यक्षद्वय ओली–प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका सांसदहरु छन् ।

उनीहरुले आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित लेखा समितिको हलमा पत्रकार सम्मेलन गरेर हस्ताक्षर सार्वजनिक गर्ने र त्यसपछि तीन शीर्ष नेतालाई उक्त बुझाउने कार्यक्रम रहेको सांसद पहाडीले बताए ।

हस्ताक्षर अभियान नेकपाका सांसदहरु गणेश पहाडी, विशाल भट्टराई, यज्ञराज सुनुवारलगायतले अघि बढाएका हुन् ।

पहिलो चरणमा नेताहरुलाई छिटो मिल्ने सुझाव दिने उद्देश्यका साथ यो अभिायन चलाइएको उनले बताए ।

त्यसोत असार १८ गतेको स्थायी समिति बैठकमा अध्यक्ष दाहाल पक्षले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो । त्यसयता सहमति खोज्न भन्दै दर्जनपटक छलफल भए पनि समस्या जहाँको त्यहि छ । प्रचण्ड र नेपाल पक्षधर ओलीले कम्तीमा एक पद छाड्नैपर्ने अडानमा छ ।

तर, प्रधानमन्त्री ओली कुनै हालतमा पद छाड्न तयार छैनन् । बरु कारवाही गरेर देखाउन चुनौती दिइरहेका छन् । यति हुँदा पनि कहिले मिलेजस्तो, कहिले गुटगत फेरबदलले अल्पमतबाट बहुमतमा पुगेर सुरक्षित भएजस्तो देखिने गरे पनि ओली–प्रचण्ड टकरावले नेकपा फुटको संघारमा देखिन्छ । असार २३ गतेको स्थायी समिति बैठक ओलीले एकतर्फी रूपमा स्थगित गरेपछि प्रचण्डले बालुवाटारमै समानान्तर भेला गरेका थिए । त्यसयता दुई अध्यक्षबीच ६ दिनसम्म त संवाद नै भएनन् । त्यसमाथि उपाध्यक्ष वामदेव गौतमले ओलीलाई नै राहत दिने गरी ६ बुँदे प्रस्ताव ल्याएपछि जोडघटाउ केही फेरिएको छ । तैपनि प्रचण्ड पक्षले बैठकबाट भाग्नुभन्दा उपस्थित भएर निकास खोज्नु पर्ने भनेको छ ।ओलीको रणनीति भने विरोधी खेमासामु गल्नेभन्दा त्यहीँभित्रै खेलेर नेताहरूलाई आफूतिर तान्दै जाने देखिन्छ ।

कुनै पद नछोड्ने, बरु महाधिवेशन, संसद र संसदीय दलको सामना गर्ने ओलीको रणनीति छ । ओली टसको मस नभएपछि दाहाल र नेपाल पक्षका नेताहरूले पार्टीका सबै कमिटी र जनवर्गीय संगठनमा आफ्नो पकड कति छ भनेर लगत संकलन गर्न थालेका छन् ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्