एसइईमा कर्णाली प्रदेशका ३६ हजार विद्यार्थी



सुर्खेत : कर्णाली प्रदेशका ३६ हजार ५ सय २४ विद्यार्थीले आइतबार सुरु हुने यस वर्षको एसइई परीक्षा दिँदै छन् ।

तीमध्ये ३४ हजार २५ विद्यार्थी नियमित, १ हजार ८ सय ३८ विद्यार्थी एक्जाम्टेड, ६ सय ४५ विद्यार्थी प्राविधिक, १३ विद्यार्थी अपांगता भएका र ३ परीक्षार्थी कैदी रहेको सुर्खेतस्थित कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक भक्तबहादुर ढकालले बताए।

उनले कर्णाली प्रदेशका १० जिल्लामा १ सय ६९ परीक्षा केन्द्र रहेको जानकारी दिए । ‘केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायकलगायत समेत गरेर २ हजार ९ सय ७८ एसइई परीक्षामा खटिनेछन्’, उनले भने, ‘प्रत्येक केन्द्रमा १५ जनाका हिसाबले २ हजार ७० जना सुरक्षाकर्मीको व्यवस्था गरिएको छ।’

निर्देशनालयका उपसचिव विष्णुप्रसाद गोतामेले एसइई परीक्षाका लागि भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले पठाएका प्रश्नपत्र प्रदेशका १० वटै जिल्लामा पुगिसकेको जानकारी दिए। 

उनका अनुसार प्रदेश सरकारले एसइई परीक्षाको तयारी र व्यवस्थापनमा समन्वय गरेको छ। उनले एसइईको ४ लाख १३ हजार २ सय ७१ उत्तरपुस्तिका प्रदेशबाटै छापिएको जानकारी दिए। चैत १० देखि २१ गतेसम्म हुने परीक्षाका लागि २ करोड ८६ लाख ५ हजार रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्