जुम्लाको चन्दननाथ नगरपालिकामा निषेधाज्ञा



जुम्ला : जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका र तिला गाउँपालिका–५ ढिमकोट गाउँमा विषेधाज्ञा जागरी गरिएको छ ।

समुदायस्तरमा कोरोना फैलिएपछि दुई स्थानी तहमा आइतबार दिउँसो ३ बजेदेखि निषेधाज्ञाा जारी गरिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रतिवेदनअनुसार चन्दननाथ नगरपालिका– १ का एक जना पुरुष, वडा नं. ३ की एक जना महिला र वडा नं. ६ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएकोले थप संक्रमण फैलिन नदिनका लागि नगरपालिका सिल पनि गरिएको छ ।

त्यसैगरी तिला गाउँपालिका– ५ ढिमकोट गाउँमा एकजना महिलामा कोरोना संक्रमण भेटिएको छ ।

चन्दननाथ नगरपालिकाको हकमा पूर्वको दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीको क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

त्यसैगरी तिला गाउँपालिका– ५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामूल, उत्तरमा डुङ्ग्री गाउँ र दक्षिणमा खोलीगाउँको चारकिल्लाभित्र निषेधाज्ञा जारी गरिएको छ ।

औषधि र स्वास्थ्य सेवाबाहेक अन्य सम्पूर्ण क्रियाकलाप पूर्ण रूपमा बन्द गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारीको सूचना प्रकाशित गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

आइतबार दिउँसो ३ बजेदेखि गरिएको निषेधाज्ञा जारी अर्काे निर्णय नहुँदासम्मको लागि संक्रमण रोग ऐन, २०२० को दफा २(२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यसअघि जुम्लामा ६९ जानलाई कोरोना भाइरस संक्रमण देखिए पनि सबैजना निको भएर घर फिर्ता भएका थिए ।

यसैगरी मेलापर्वमा जनमानसको भेला हुने र कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा देखिएकोले मेलापर्व बन्द गर्न प्रशासनले आग्रह गरेको हो ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्