सुत्केरीको मृत्युपछि सेती अञ्चल अस्पताल तनावग्रस्त



कैलाली : चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै आफन्त विरोधमा उत्रेपछि सेती अञ्चल अस्पतालमा तनाव बढेको छ। 

धनगढी उप–महानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया सुत्केरी रेखा थापाको बिहीबार मृत्यु भएको थियो। मृतकका परिवारले डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन्। 

आफन्तले शुक्रबार बिहानै अस्पतालमा आन्दोलन गर्दै अपरेसन वार्ड, प्रशासनलगायत तालाबन्दी गरेका छन्।

बेथा लागे पछि चैत ४ गते सेती अञ्चल अस्पताल धनगढीमा भर्ना भएकी रेखा थापाको सामान्य डेलिभरी हुन नसकेपछि अप्रेसन गरिएको थियो । मृतकका पति जय थापाका अनुसार अप्रेसनपछि उनको पेट सुन्निएको थियो । 

उपचारमा संलग्न चिकित्सकले ग्यास्ट्रिकको कारण देखाउँदै दुई दिन बेवास्ता गरेको उनको आरोप छ । डाक्टरले बुधबार थापालाई जन्डिस भएको भन्दै उपचार गरेको थियो । 

तर पेट सुन्निने समस्या यथावत् रहेपछि बिहीबार बिहान मात्रै अस्पतालले थप उपचार सम्भव नभएको बताएकाले रेखालाई बाँकेको कोहलपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।उनीहरूले लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका छन् ।

सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भने घटनाबारे थप अनुसानधान गर्न छानबिन गर्न समिति गठन गर्ने बताएका छन् । 

नवजातको स्वास्थ्य भने सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्