‘पिक एन्ड ड्रप’ को नीति अनुपयुक्त : उदया शर्मा पौडेल



काठमाडौं :  काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको रत्नपार्क क्षेत्रमा सवारीसाधनलाई लागू गरेको ‘पिक एन्ड ड्रप’ (यात्रु झार्ने र चढाउने) नीति अनुपयुक्त देखिएको छ।  ‘पिक एन्ड ड्रप’ लागू भएपछि यात्रुले सास्ती पाएको विषयले राष्ट्रियसभामा प्रवेश पाएको छ।  राष्ट्रियसभाको शुक्रवारको विशेष समयमा सांसद उदया शर्मा पौडेलले अत्यावश्यक ठाउँमा सवारी नरोक्दा वृद्धवृद्धालाई असहज भएको बताउँदै ‘पिक एन्ड ड्रप’ हटाउन आग्रह गरिन्। 

उनले पिक एन्ड ड्रप गर्न नसकिने भए किन सकिएन त्यसको चित्तबुझ्दो जवाफ दिन सम्बन्धित निकायसँग माग गरिन्। महानगरपालिकाले पुस १ देखि सुरु गरेको ‘पिक एन्ड ड्रप’बाट यात्रुहरुले सास्ती खेप्नुपरेको छ। टुँडिखेलबाट सिंहदरबार हुँदै नयाँ बानेश्वर जाने सवारीसाधनले राष्ट्रिय सभागृहको दायाँ बायाँको भृकुटीमण्डपको स्टप र माइतीघरबाट बबरमहलको बीचमा मात्र यात्रु ओराल्न र चढाउन पाउँछन्। 

टुँडिखेलबाट सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारीसाधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटीमण्डपको स्टप र थापाथलीस्थित खाद्य संस्थानअगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउँछन्।  टुँडिखेलबाट त्रिपुरेश्वर हुँदै कालीमाटीतर्फ जाने सवारीसाधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटीमण्डपको स्टप र त्रिपुरेश्वर स्टप, टुँडिखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने सवारीसाधनले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित दूग्ध विकास संस्थान अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउँछन्। 

यस्तै टुँडिखेलबाट लैनचौर हुँदै महाराजगन्ज र धोबीचौर जाने सवारीसाधनले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउँछन्।

टुँडिखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने सवारीसाधनले नेपाल वायु सेवा निगम र रत्नपार्क तथा टुँडिखेलभन्दा बाहिर जाने सवारीसाधनले रत्नपार्क अगाडि र टुँडिखेलभन्दा बाहिरको स्टपमा मात्र यात्रु ओराल्न र चढाउन पाउँछन्। 

पुरानो बसपार्क्िभत्र यात्रु चढाउने र ओराल्ने सवारीसाधनका लागि पुरानो बसपार्कभित्रको स्टप र टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टप तथा लामो दूरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कंदा नेपाल वायु सेवा निगम हुँदै चल्ने सवारीसाधनले एकतर्फ वायुसेवा निगम अगाडि र अर्कोतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्छ।

यस्तै दोस्रो स्टपका लागि टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टपबाट मात्र यात्रु ओराल्ने र चढाउनुपर्छ। वायु सेवा निगम अगाडि स्टप बनाई विभिन्न गन्तव्यमा जाने सफा टेम्पोले निगम अगाडिको स्टप र अन्य सवारीसाधनले प्रयोग गर्ने स्टप तथा बागबजारस्थित भक्तपुर बसपार्कबाट यात्रु लिई आउने सवारीसाधनले सोही ठाउँ र माइतीघर र बबरमहलको बीचबाट यात्रु ओराल्न र चढाउन पाउँछन्। पिक एन्ड ड्रपका कारण यात्रु अलमलिने गरेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्