भारतबाट फर्किएकाहरुलाई नगरपालिकामा राखेपछि कर्मचारी आन्दोलित



धनगढी : भारतबाट घर फर्किएकालाई शुक्लाफाँटा नगरपालिकाले कार्यालयको सभाकक्षमा राखेपछि कर्मचारीहरुले कामकाज बन्द गरेका छन् ।

भारतबाट घर फर्किएका ११ जना स्थानीय नागरिकलाई शनिबार राति नगरपालिकाको सभाकक्षमा राखिएको हो । स्वास्थ्य परीक्षण नगरी नगर सभा कक्षमा राखिएपछि कोरोना जोेखिम बढेको भन्दै कर्मचारी आन्दोलित अएका हुन् ।

कर्मचारीहरुले आइतबार दिउँसो १ बजेसम्म कामकाज बन्द गरेका थिए ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशन सिंह थापाका अनुसार स्वास्थ्य जाँच नगरी सभाकक्षमा राखिएकाले समस्या उत्पन्न भएको हो ।

उनले भने–‘भारतबाट फर्केकालाई कोरोना परीक्षण बिना राखेकाले सेवाग्राही तथा कर्मचारीले असुरक्षित महसुश गरेका छन् । तर, सेवाग्राहीलाई सेवा प्रवाह गर्नेबारे कुनै समस्या हुँदैन ।’

कर्मचारीहरु कामकाज बन्द गरी आन्दोलनमा उत्रिएपछि नगर प्रमुख दिल बहादुर ऐर समस्या समाधानका लागि छलफल अघि बढाएका छन् । केही समयपछि नगरपालिकामा बैठक बस्ने तयारी गरिएको छ ।

शनिबार राति १२ बजे झलारी बजारमा आएका स्थानीयलाई आपतकालिन अवस्थामा नगर सभा कक्षमा राखिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगत बहादुर सिहले बताए ।

भारतबाट आएका सबैको कोरोना परीक्षण गरि उचित व्यवस्थापन हुने उनले बताए । साथै कञ्चनपुरमा भारतबाट फर्किएका अधिकांशमा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्