सुत्केरी मृत्यु प्रकरण : ५ बुँदे सहमति, छानबिन समिति गठन गरिने



कैलाली : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै बिहानैदेखि धनगढीको सेती अञ्चल अस्पताल तनावग्रस्त भएपछि बसेको सर्वपक्षीय बैठकले निकास निकालेको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सेती अञ्चल अस्पतालका प्रतिनिधि, धनगढी उप–महानगरपालिकाका प्रतिनिधि र पीडित पक्षबिच भएको छलफलमा ५ बुँदे सहमति भएको हो । सहमतिअनुसार चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको विषय छानबिनका लागि समिति गठन गरिनेछ ।

त्यसका लागि सामाजिक विकास मन्त्रालयले एक जना स्त्रीरोग विशेषज्ञ संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट माग गर्ने निर्णय भएको छ । नवजात शिशुको पालनपोषणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव लैजाने पनि निर्णय भएको छ ।

त्यस्तै नवजात शिशुको २४ वर्षको उमेरसम्म निःशुल्क उपचार हुने भएको छ । त्यसको जिम्मेवारी सेती अञ्चल अस्पताल र सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । यस्तै उक्त शिशुको शिक्षाको जिम्मा पनि सामाजिक विकास मन्त्रालयले लिने सहमति भएको छ । 

सुत्केरी व्यथा लागेपछि चैत ४ गते सेती अस्पताल धनगढीमा भर्ना भएकी २२ वर्षीया रेखा थापाको सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रिया गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले ग्यास्ट्रिकको कारण देखाउँदै दुई दिन बेवास्ता गरेको आफन्तको आरोप थियो । चिकित्सकले बुधबार थापालाई जन्डिस भएको भन्दै उपचार गरेको थियो । 

तर पेट सुन्निने समस्या यथावत् रहेपछि बिहीबार बिहान मात्रै अस्पतालले थप उपचार सम्भव नभएको बताएकाले रेखालाई बाँकेको कोहलपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्