नेपाललाई हराउँदै भारत पाँचौँ पटक साफ महिला च्याम्पियन



विराटनगर : भारतले लगातार पाँचौँ पटक दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता (साफ)को उपाधि जितेको छ । शुक्रबार भएको खेलमा नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै भारत  च्याम्पियन भएको हो ।

विराटनगरको सहिद रंगशालामा भारतको जितमा डालिमा छिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काइन् ।

खेलको २६ औ मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसको सात मिनेटमै खेलको ३३ औ मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याइन् । 

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा पहिलेकै लय कायम राख्न सकेन । ६३ औ मिनेटमा भारतकी ग्रेस डाङ्मेयीले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन् भने अन्जु तामाङले ७८ औ मिनेटमा गोल गर्दै भारतको ३–१ को जित सुनिश्चित गरिन् ।

प्रतिक्रिया दिनुहोस्