जलेश्वरमा पुनः भदौ १ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा



जनकपुरधाम : महोत्तरीकोे जलेश्वर नगरपालिकामा निषेधाज्ञाको समयअवधि तेश्रो पटक पुनः थपिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले नगरपालिका क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएको र समुदाय स्तरमा फैलिएकोले निषेधाज्ञाको समयअवधि साउन २५ गते आईतबार राति १२ बजेदेखि भदौ १ गते राती १२ बजेसम्मका लागि थपिएको जानकारी दिए ।

प्रजिअ कटुवालले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ५ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जलेश्वर नगरपालिकाको पूर्वमा भार्गेश्वर, पश्चिममा राविम क्याम्पस, उत्तरमा प्रकौली चौक र दक्षिणमा धबौलीको रातो पुलसम्मको चार किल्ला भित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिए । प्रशासनले महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर–३ र ५ मा समेत अनावश्यक आवतजावत र हिँडडुल नगर्न÷नगराउन तेश्रो पटक आदेश दिइएको छ ।

No description available.

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ । प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्