पुनर्भरणबाट कसरी पानीको समस्या समाधान गर्ने?



काठमाडाैं : के तपाईँ पानी बिनाको जीवन कल्पना गर्न सक्नुहुन्छ? एक छिन सोचौँ त हामी पानी बिना कति समय रहन सक्छौँ? पानी बिनाको जीवन हामी कल्पना पनि गर्न सक्दैनौँ। 

पछिल्लो समय संसारभर पानीको समस्या एक साझा समस्याको रूपमा रहेको छ। अझ काठमाडौँ उपत्यकामा त पानीको अभावले काकाकुल हुने अवस्था आइसकेको छ। अधिकांशको घरमा ट्युबेल र इनारबाट पहेँलो र बाक्लो लेदोसहितको दूषित पानी आइरहेको हुन्छ। त्यस्तै पानी प्रयोग गर्न बाध्य छौँ हामी। 

नेपाल जलस्रोतको दोस्रो धनी देश हो। तर,अझैसम्म पनि १२ प्रतिशत नागरिकले आधारभूत पिउने पानी प्राप्त गर्न नसकेको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रमाकान्त दुवाडीको भनाई छ। 

विभागका अनुसार अहिलेसम्म ८८ प्रतिशत नागरिकका घरमा आधारभूतस्तरको खानेपानीको पहुँच पुगेको छ। आधारभूत पानीको सेवा नपुगेका ठाउँमा घण्टौँसम्म हिँडेर तथा लाइन लागेर पानी लिन जानुपर्ने अवस्था छ। 

कतिपय स्थानमा भने नागरिकले प्रदूषित पानी प्रयोग गर्न बाध्य छन्। 

काठमाडौँमा दैनिक ४० करोड लिटर पानीको आवश्यकता छ। तर, अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड लगायत विभिन्न संस्थाले दैनिक १० देखि ११ करोड लिटर मात्रै पानी वितरण गर्दै आइरहेका छन्। 

उपत्यकावासीले त झन् मेलम्चीको पानी आउने आसमा कयौँ वर्ष काटिसकेका छन्। पानीको समस्या समाधान गर्न मेलम्चीको आयोजना ल्याइए पनि मेलम्चीको पानी कहिले काठमाडौँ आइपुग्छ, त्यसको कुनै टुंगो छैन । 

यस्तो अवस्थामा सबैले दीर्घकालीन समाधानको उपाय सोच्नुपर्ने बेला भइसकेको छ। पानीको समस्या समाधानका लागि आकासेपानीको संकलन, पानीलाई पुनर्भरण तथा इनार र धाराको पानीको सही सदुपयोग गर्न सकियो भने केही हदसम्म समस्या हट्ने देखिन्छ। 

यी विभिन्न उपायमध्ये हामीले पानी पुनर्भरणको विषयमा केन्द्रित भएर लामो समयदेखि पानी पुनर्भरणको क्षेत्रमा काम गरिरहेका एकीकृत सहरी विकास केन्द्रका कार्यक्रम निर्देशक सुदर्शन राजभण्डारीसँग कुराकानी गरेका छौँ। 

पानी पुनर्भरण भन्ने बित्तिकै आकाशबाट परेको पानीलाई खेर जान नदिई जमिनमुनि पठाउने टेक्नोलोजी हो। पानीको मुख्य श्रोत मध्ये जमिनमुनिको पानी पनि एक हो। बढ्दो सहरीकरणका कारण हामीले पानीको प्रयोग पनि धेरै गरिरहेका छौँ। अनि प्राकृतिक श्रोतको पनि विनाश भइरहेको छ। 

त्यसैले पानी पुनर्भरण गर्न आवश्यक छ। यसका लागि माटोको अवस्था हेरेर इनार खन्ने र रिङ राख्ने अनि गिट्टी, बालुवा हाल्ने र माथिबाट पानी राख्ने अनि बिस्तारै पानी सोस्तै जान्छ र पानी रिर्चाज हुन्छ। त्यसपछि हामीकहाँ भएका श्रोतहरू जस्तै : इनार र ढुङ्गे धारामा सहजै पानी आउँछ। 

अहिले उपत्यकाका केहिकेहि ठाउँमा देखाउने हिसाबले यसको परीक्षण भइरहेको छ। तर, जसरी यसको विकास हुनुपर्ने हो त्यो भएको छैन। यसका लागि जनचेतना जगाउनुपर्ने, कहाँ कहाँ पुनर्भरण गर्न सकिन्छ अध्ययन गर्नुपर्ने देखिन्छ। 

उपत्यकामा अहिलेसम्म ललितपुरको पाटन, नागबहाल, टेकु, रानीबारी र ठिमीमा यसको परीक्षण गरिएको छ। यो प्रविधिमा माटो अनुसार पानी रिचार्ज हुन्छ। काठमाडौको पागो र बलौटे माटोमा पानी बढी रिचार्ज हुन्छ।

काठमाडौँका बुढानीलकण्ठ, चापागाउँ, सातदोबाटो, जाउलाखेल र लगनखेल क्षेत्रमा पानीको पुनर्भरण गर्न सकिन्छ। पुनर्भरणले जमिन सुख्खा हुनबाट पनि जोगाउँछ। यसको लागि धेरै झन्झट पनि छैन, पहिलो पटक बनाइसकेपछि वर्षमा एक दुई पटक सफा गरे पुग्छ । 

 

प्रतिक्रिया दिनुहोस्