भदौ १ गतेबाट सूचारु गर्ने भनिएका सेवाहरु तत्काल सञ्चालन नहुने



काठमाडौं : आगामी भदौ १ गतेबाट सूचारु गर्ने भनिएका सेवाहरु तत्काल सञ्चालन नहुने भएको छ । सरकारले कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण र मृत्यु हुनेको संख्या बढ्न थालेकाले आगामी भदौ १ गतेबाट सुचारु हुने भनिएका सेवाहरु तत्काल सञ्चानलन नहुन भएका हुन् ।

आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड–१९ निर्देशन समितिको बैठकमा मन्त्रीहरुले तत्कालका लागि सरकारले यसअघि सञ्चालन गर्ने भनिएका कुनै पनि सेवालाई अघि नबढाउने निष्कर्षमा पुगेका हुन् ।

सरकारले आगामी भदौ १ गतेबाट लामो दूरीको यातायात सेवा, हवाई सेवा र विद्यायलय भर्ना खोल्ने लगायतका निर्णय गरेको थियो । तर, कोरोना संक्रमणका कारण जोखिम झन् बढेकाले बैठकले यस्तो निर्णय गरेको हो ।

यसबारे थप निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नेछ । मन्त्रिपरिषदको नियमित बैठक आज (सोमबार) बस्छ ।

‘सीसीएमसी निर्देशक समितिमा मन्त्रीहरु सदस्य भएका कारण उनीहरुले नै मन्त्रिपरिषदमा कुरा गर्ने र त्यसपछि मन्त्रिपरिषदबाट भएको निर्णयलाई मन्त्रिपरिषदले नै परिमार्जन वा संशोधन गर्न सक्नेछ,’ सीसीएमसी सचिवालयका संयोजक महेन्द्रप्रसाद गुरागाईंले भने ।

साउन ६ गतेबाट लकडाउन पूर्ण रुपमा हटेपछि सरकारले भदौ १ बाट आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक र अन्य उडान, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल र विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्ने तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, लकडाउन खुलेसँगै कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि सरकारले सूचारु गर्ने भनेर निर्णय गरेका सेवा तत्कालका लागि नखोल्ने निष्कर्षमा सीसीएमसी पुगेको हो ।

भदौ १ बाट खोल्ने भनिएका सेवाहरू कति दिन पछि खोल्ने भन्ने सम्बन्धमा भने सीसीएमसीमा सहमति भएको छैन ।

प्रकाशित : साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्