भारतीय कन्टेनरको धन्दा : नेपाल आउँदा सामान, भारत फर्किदाँ लागूऔषध



धादिङ : धादिङ प्रहरीले जिल्लाको पृथ्वी राजमार्गस्थित गजुरी गाउँपालिका १ गजुरीबजारबाट शुक्रबार बिहान १६४ केजी चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका २३ वर्षीय मौ महताव छन्। काठमाडौँमा सामान छाडेर उत्तर प्रदेश जाँदै गरेको युपी१९टी ५१७१ नम्बरको भारतीय ट्रक चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय गजुरीले शुक्रबार बिहान चरेश फेला पारेको हो।

ट्रकको क्याविनको माथिल्लो भागमा आठ वटा प्लास्टिकको बोरामा राखिएको अवस्थामा प्रहरीले चरेस फेला पारेको हो। राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिइने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागूऔषध ओसारपसारको मुख्य नाका बनेको छ। खासगरी भारतीय कन्टेनर र भारतीय नागरिकहरू बढी पक्राउ पर्ने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए।

‘पृथ्वी राजमार्गको नाका हुँदै भारतीय कन्टेनरको क्याबिनमा लुकाई लागूऔषध लैजाने गरेका छन’, प्रहरी निरीक्षक ढुंगेलले भने, ‘सामान्य खालका लागूऔषधदेखि ठूला मात्रामा भेटिने गरेको छ। सामान लिएर नेपालमा आउने र फर्कदाँ लागूऔषध लैजाने गरेका छन्।’ भारतीय लागूऔषध कारोबारीले नेपाललाई लागूऔषध कारोबारको ‘हब’ बनाएका छन्। लागूऔषध कारोबारमा पक्राउ पर्नेमध्ये अधिकांश भारतीय कन्टेनर र भारतीय नागरिक हुने गरेका छन्।

लागूऔषध नियन्त्रण ब्युरोले पनि भारतीय कारोबारीको मुख्य बजार काठमाडौं उपत्यकालाई मानेको छ। काठमाडौँमा सामान पुयाउर्ने र फर्कदाँ लागूऔषध लिएर भारत जाने गरेका छन्। यसरी भारत लैजादै गरेको लागूऔषध प्रहरीको फन्दामा पर्ने गरेको छ भने केही सिधैँ भारतमा नै पुग्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश बिष्टका अनुसार लागूऔषध करोबारमा अधिकांश भारतीय नागरिक पक्राउ पर्नुले नेपाल उनीहरूका लागि लागुऔषध करोबार गर्ने उपयुक्त बजार रहेको पुष्टि हुने बताए।

‘लागुऔषध कारोबारमा पक्राउ पर्नेमध्ये अधिकांश भारतीय नागरिक छन्’ डिएसपी बिष्टले भने,  ‘लागूऔषध बेच्ने उपयुक्त मार्केटका रूपमा नेपाललाई विकास गर्न लागेको यी घटनाले पुष्टि गर्छ। यसतर्फ प्रहरी सचेत छ।’ कुनै कुनै घटनामा भने लागूऔषधको कारोबारी गर्ने तस्कर उम्कने र भरिया मात्र समातिने गरेको उनले बताए।  

पछिल्लो समय लागूऔषध तस्करीले भारतीय मालवाहक साधनमा चरेस तस्करी गर्ने गरेको खुलेको छ। चरेससहित प्रहरी नियन्त्रणमा रहेका भारतीय मालवाहक साधनलाई हेर्दा तस्करीले यस्तो उपाय लगाएको प्रहरीको निष्कर्ष छ। भारतीय साधनमा प्रहरीले खासै कडाइ नगर्ने र हेरिहाले पनि कागजपत्र मात्र हेर्ने भएका कारण तस्करले भारतीय कन्टेनर भारत तस्करी गर्ने गरेको प्रहरीको भनाई छ।

नेपाली ट्रकमार्फत लैजाँदा भारती सीमाक्षेत्रमा नेपाली ट्रकबाट निकाल्न र फेरि भारतीय ट्रक तथा कन्टेनरमा लोड गर्न झन्झट हुने भएपछि तस्करले सीधै भारतीय कन्टेनर तथा ट्रकमार्फत चरेस–गाँजा भारत सप्लाई गर्ने गरेको धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारले बताए। ‘अवैध लागूऔषध चरेशको मुख्यबजार भनेकै भारत हो’, एसपी बैदवारले भने, ‘खुला सीमा र खुकुलो नाकाका कारण भारतीय लागूऔषध कारोबारी नेपालका बजारमा सजिलै प्रवेश गर्छन्, भारतीय सवारीसाधन विनाजाँच सजिलै नेपाल प्रवेश गर्नुले पनि भारतीय लागुऔषध कारोबारीलाई सजिलो बनाएको छ।’

महिनैपिच्छे ठूलो परिमाणमा चरेस बरामद

प्रहरीले गत पुस १९ गते गजुरी बजारबाट दुई सय ३५ किलो चरेससहित दुई भारतीयलाई पक्राउ गरेको थियो। विशेष सुराकीका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोसहितको टोलीले काठमाडौंबाट फर्कँदै गरेको भारतीय कन्टेनरमा क्याबिन माथिको भागमा फल्स बटन बनाई लुकाएर लैजादै गरेको अवस्थामा चरेस बरामद गरिएको थियो। त्यस्तै गत माघ २७ गते तीन सय ६० किलो चरेससहित तीन भारतीयलाई पक्राउ गरेको थियो।

काठमाडौँबाट चितवन हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एच आर५५एम ९४८४ नं को भारतीय कन्टेनरको क्याबिनको माथिल्लो भागमा प्लास्टिकको १५ वटा बोरा भित्र ७०२ वटा प्लास्टिकमा पोका पारी लुकाई राखेको अवस्थामा फेला पारेको थियो।    त्यसैगरी फागुन २६ गते गजुरीबजारबाट नै एक सय ५ किलो चरेससहित तीनजनालाई पक्राउ गरिएको थियो। गजुरी हुँदै वीरगन्जतर्फ जाँदै गरेको चेन्नई एक्सप्रेसको ना ५ ख २८१२ नम्बरको बस चेकजाँचका क्रममा प्रहरीले चरेस फेला पारेको हो। 

यी त ठूला परिमाणका लागूऔषधका घटनाहरू हुन्। राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिईने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागूऔषध ओसारपसारको मुख्य नाका बनेको छ। हरेक हप्ताजसो प्रहरीले अवैध मानिने यस्ता लागूऔषध बरामद गर्ने गरेका छन्। पृथ्वी राजमार्गलाई मुख्य ट्रान्जिट बनाउँदै अवैध लागूऔषध चरेस तथा गाँजाको ओसारपसार बढ्दै गएको छ। 

प्रतिक्रिया दिनुहोस्