कोरोना शीर्षकमा सिराहाका स्थानीय तहले खर्च गरे २८ करोड, एउटा सिरानीको खोलको बिल २८ सय ७३ रुपैयाँ



१० जनाको परिवारलाई एउटा मास्क, एउटा हात धुने साबुन । गरिबका बस्तीमा कमसल मास्क । जनप्रतिनिधि र कर्मचारी भने एन–९५ मास्क लगाउँछन् ।

सिरहा : सिराहा नगरपालिका–१९ सन्हैठास्थित उत्तरबारी र दक्षिणबारी टोलमा डोम जातिका २० परिवारका एक सय १० जनाको बसोवास छ । गत २० चैतमा वडा कार्यालयले तीमध्ये १५ परिवारलाई एक–एक थान मास्क वितरण ग¥यो । उत्तरबारी टोलका बद्री मल्लिकको परिवारमा १० सदस्य छन् । उनलाई २२ चैतमा वडा कार्यालयका कर्मचारीले एक–एक थान मास्क र हात धुने साबुन दिए । ‘१० जनाको परिवारलाई एउटा मास्क लिनु कि नलिनु भयो !’ बद्री भन्छन्, ‘वडाले हाटबजार जाँदा मात्र मास्क लगाउन भनेको छ । घरबाहिर जानुपर्दा बुढाबुढीले एउटै मास्क पालैपालो लगाउँछौँ ।’

उत्तरबारी टोलकै प्रमिला देवीले पनि एउटा मास्क र हातधुने साबुन पाइन् । यो टोलका पाँच परिवारका ३३ जनालाई पाँचवटा मास्क दिइएको थियो । दक्षिणबारी टोलका १२ जनाको परिवारलाई २३ चैतमा एउटा मास्क दिइयो । सिराहा–१९ का वडाध्यक्ष गोपाल यादव महँगो भएकाले हरेक घरमा एक÷एक थान मास्क र हातधुने साबुन वितरण गरिएको बताउँछन् । उनका अनुसार ११ चैतमा लकडाउन घोषणायता मास्क र साबुन वितरणमा मात्र वडा कार्यालयले पाँच लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।

००० ००० ०००

सिराहा–७ को जनसंख्या चार हजार तीन सय ४५ छ । त्यहाँ लकडाउनयता पाँच हजार मास्क, आठ हजार साबुन र एक हजार स्यानिटाइजर वितरण गर्न सरकारी कोषबाट दुई लाख ४५ हजार खर्च भएको छ । वडाध्यक्ष उपेन्द्र साहका अनुसार प्रतिपरिवार दुईवटा मास्क वितरण गरिएको छ ।

सिराहाकै बरियारपट्टी गाउँपालिका–४ का वडाध्यक्ष नवीन यादवले २७ चैतमा वडा कार्यालयबाट नौ सय ६० घरधुरीलाई जनही दुईवटा मास्क र एउटा हातधुने साबुन वितरण गरे । ‘सुरुमा दुई/दुई र पछि तीन÷तीनवटा मास्क वितरण गरियो,’ उनी भन्छन् ।

सिराहा–६ बसपिट्टाका रामसोगारथ पासवानको १० जनाको परिवारलाई वडा कार्यालयले १२ चैतमा पाँचवटा मास्क दियो । वडाध्यक्ष विजयकुमार यादव नेतृत्वको टोलीले उनलाई मास्क दिँदै गर्दा उनी जिल्ल परे । ‘परिवारमा साना, ठूला गरी १० जना छौँ । वडाले दियो ठूला मान्छेले मात्र लगाउन मिल्ने पाँचवटा मास्क । बरु नदिएको भए हुन्थ्यो,’ उनी भन्छन् ।

यी त केही उदाहरण मात्र हुन् । जिल्लाका १७ वटा स्थानीय तहले मास्क र साबुन वितरणका लागि २८ करोड १२ लाख ८९ हजार रुपैयाँ खर्च गरेका छन् (हेर्नुस् इन्फोग्राफ्स) । ‘यसरी जथाभावी मास्क बाँडेर न कोरोना नियन्त्रण भयो, न त मास्कमा गरिएको सरकारी खर्च औचित्यपूर्ण देखियो,’ जिल्लाका नागरिक अगुवा रामकिशोर यादव भन्छन् ।

मुख छोप्न भने गम्छा र साडी

सिराहा–६ का सुशील पासवान र जोगी पासवानको परिवारमा १५/१५ सदस्य छन् । तर, वडाले उनीहरूलाई प्रतिपरिवार पाँचवटा मास्क र एउटा साबुन दिएको छ । पासवान भन्छन्, ‘मास्क नपुगेर मैले गम्छा र श्रीमतीले साडीले मुख छोप्छौँ ।’

०६८ को जनगणनालाई आधार मान्ने हो भने सिराहा–६ को जनसंख्या तीन हजार आठ सय ४५ छ । कोभिड संकट सुरु भएयता वडा कार्यालयले तीन लाख ६० हजार रुपैयाँको मास्क वितरण गरेको छ । तर, वडाका सबैले मास्क पाएका छैनन् । वडाध्यक्ष विजयकुमार यादव भने वडावासीलाई पटक–पटक मास्क वितरण गरिएको दाबी गर्छन् । ‘सुरुमा वितरण गरेकाले नपुगेर थप १२ हजार मास्क किनेर बाँड्यौँ । त्यो पनि प्रतिगोटा ३० रुपैयाँ पर्ने,’ उनी भन्छन् ।

सिराहा–१८ वडा कार्यालयले पनि २६ चैतदेखि प्रतिपरिवार तीन/तीनवटा मास्क वितरण गरेको थियो । त्यतिखेर बाटोमा भेटिएकाहरूलाई पनि एक/एक वटा मास्क र ५० ग्रामको सानो लाइफब्वाय साबुन थमाइएको वडाध्यक्ष रामसोगारथ यादव बताउँछन् । वडा कार्यालयले चैतयता एक लाख आठ हजार रुपैयाँको मास्क, साबुन र स्यानिटाइजर वितरण गरेको खर्च देखाएको छ ।

सिराहा–४ रमौलमा २२–२५ चैतमा वडाका कर्मचारी र जनप्रतिनिधिले गाउँ छिरेर प्रतिघर दुईवटा मास्क र एउटा साबुन बाँडे । हरेक घरमा दुईदेखि पाँच थानसम्म मास्क बाँडिएको वडाध्यक्ष मोहम्मद इजाहरुल हक बताउँछन् । भन्छन्, ‘स्यानिटाइजर कसै–कसैलाई दिएँ, मास्कचाहिँ घरघर पुगेर बाँडेँ । बजारमा कम उपलब्ध थियो । र, महँगो भएकाले पनि सबैलाई दिन सकिएन ।’ सिराहा–१३ का मुकेश यादवको सातजनाको परिवारले जम्मा एक थान मास्क पायो ।

मुसहर बस्तीमा कपडाको मास्क, कर्मचारी र जनप्रतिनिधिलाई एन–९५

मास्क बाँड्दै सिराहा नगरपालिका ६ का कर्मचारी

बरियारपट्टी गाउँपालिका–३ ले १८ चैतमा भन्सारछेउका मुसहर समुदायका ५० परिवारलाई सिलाएको कपडाको मास्क दियो । दैनिक मजदुरी गर्ने आफूहरूलाई कम गुणस्तरको मास्क वितरण गरिएको मुसहर परिवारको गुनासो छ । उनीहरूलाई प्रतिगोटा १० रुपैयाँ पर्ने कपडाको तीन हजार नौ सय थान मास्क दिइयो । कर्मचारी र जनप्रतिनिधिले चाहिँ प्रतिगोटा ६ सय ५० रुपैयाँ पर्ने एन–९५ मास्क लगाउँदै आएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहले सार्वजनिक गरेको खर्च विवरणमा ०७६ चैतयता सामान्य मास्क तीन हजार नौ सय, सर्जिकल मास्क पाँच सय र एन–९५ मास्क सय थान खरिद गरिएको उल्लेख छ । त्यसका लागि आठ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ ।

सिराहाको मिर्चैया–२ का वडाअध्यक्ष लक्ष्मेश्वर कापर वडावासीलाई मास्क वितरण गर्दै

औरही गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले पनि आमनागरिकलाई कपडाको सामान्य मास्क वितरण गरेर आफूले एन–९५ मास्क प्रयोग गरेका थिए । ‘जनतालाई स्तरीय मास्क दिनुपर्नेमा राम्रो मास्क आफूलाई कमसल मास्क त्यो पनि आवश्यकताभन्दा थोरै संख्यामा वितरण गरेर मजाक गरियो,’ नागरिक अगुवा यादव भन्छन् ।

जिल्ला अस्पताल सिराहाका डा. दिलीप सदाका अनुसार सिराहाका स्थानीय तहले वितरण गरेका मास्क दोहो¥याएर प्रयोग गर्न नमिल्नेखालका छन् । त्यही मास्क पनि पटक–पटक प्रयोग गरेर काम चलाइरहेका छन् । ‘मास्क खरिद र वितरणको भद्रगोल हेर्दा सिराहाका स्थानीय सरकारको लगानी व्यर्थ भएको छ,’ डा. सदा भन्छन्, ‘बरु भौतिक दूरी कायम र नियमित साबुनपानीले हात धुन चेतना जगाउन लागिपरेको भए प्रभावकारी हुने थियो । स्थानीय तह सस्तो लोकप्रियताका लागि व्यर्थको काममा बरालिएको देखियो ।’

००० 

मन्त्रीको शैली पनि उस्तै

प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले ‘प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कोष’को बजेटबाट जिल्लामा मास्क र साबुन वितरण गरे । पूर्वाधार विकास कार्यालय सिराहाका प्रमुख राजेशलाल कर्णका अनुसार, मन्त्री यादवले आफ्नो निर्वाचन क्षेत्रमा नौ लाख ५० हजार रुपैयाँको मास्क र साबुन वितरण गरे । सुखीपुर, अर्नामा, बरियारपट्टी, औरही, नवराजपुरका १९ वडामा एक लाख मास्क, एक हजार तीन सय ८२ ओटा गोदरेज साबुन र ६ हजार चार सय ८० लाइफब्वाय साबुन वितरण गरे, मन्त्री यादवले ।

मास्क र साबुन खरिद गर्न उपभोक्ता समिति नै गठन गरे । वितरणको जिम्मा भने जनता समाजवादी पार्टीका कार्यकर्तालाई दिए । १० जनाभन्दा बढी सदस्य भएको परिवारमा पाँचवटा मास्क र एउटा साबुन वितरण गरे । ‘सांसद विकास कोषबाट पनि कमसल मास्क वितरण गरियो । त्यो पनि सबैले पाएनन्,’ औरही–५ का नवल यादव भन्छन् ।

सिराहा नगरपालिकामा अख्तियारको छापा

कोरोना रोकथामका नाममा सिराहा नगरपालिकाले गरेको खर्च शंकास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । आयोगको बर्दिबास कार्यालयको टोलीले आइतबार नगरपालिकाबाट कागजपत्र नियन्त्रणमा लिएको छ । आयोगको बर्दिबास कार्यालय प्रमुख मणिराम ज्ञवालीले कोरोना नियन्त्रणका नाममा नगरपालिकामा अनियमितता भएको गुनासो आएपछि छानबिन थालिएको बताए ।

अख्तियारले छानबिन थालेपछि नगरपालिकाले खर्च विवरण त्रुटिपूर्ण भएको बताउँदै क्षमायाचनासहित सच्याएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले अघिल्लो खर्च विवरणमा प्रिन्ट मिस्टेक रहेको दाबी गरे ।नयाँ पत्रिका दैनिकमा सुरेन्द्रकुमार कामतीले लेखेका छन् ।

प्रकाशित : साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्