विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव



काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ ।

सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो ।

यसअघि गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउनको अन्त्य गर्दै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौ भरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना सम्भव नभएको प्रस्ताव छ । सिसिएमसीको प्रस्तावबारे आगामी मन्त्रिपरिषद् बैठकले निर्णय लिने छ ।

यस्तै सिसिएमसीले यसअघि भाद्र १ गतेबाटै खुल्ला गर्ने भनिएको अन्तरजिल्ला लामा तथा छोटा दुरीका सवारी साधन समेत १५ दिनका लागि पर सार्न प्रस्ताव गरेको छ ।

यसअघि अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन, आन्तरिक तथा बाह्य सबै व्यवसायिक हवाई उडान, विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्