ओली सरकारलाई आन्दोलनबाटै हटाउने गजुरेलको चेतावनी



पोखरा : देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले केपी ओली सरकारलाई आन्दोलनबाटै हटाउने बताएका छन् । मोर्चाको गण्डकी प्रदेशस्तरीय प्रथम सम्मेलनलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले ओली सरकारलाई सडक आन्दोलनबाटै हटाएर जनगणतन्त्र ल्याउने उद्घोष गरेका हुन् । 

ओली सरकार फासीबादतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले यो सरकारलाई सडक आन्दोनलबाट हटाउनुको विकल्प नभएको बताए । ओली सरकारबिरुद्ध आन्दोलन सुरु भएको बताउँदै उनले भने, ‘देशभक्त जनगणतान्त्रिक मोर्चाले देशव्यापी भेला र सम्मेलन गरिरहेको छ, यो आन्दोलनकै एउटा स्वरूप हो ।’ उनले मोर्चाको केन्द्रीय सम्मेलन हुने दिन चैत २४ गते काठमाडौंमा आन्दोलनकै एउटा मोर्चास्वरुप शक्ति प्रदर्शन गर्ने बताए ।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्यसमेत रहेका गजुरेलले फाँसीवाद आईसक्दापनि प्रमुख प्रतिपक्षी दल कांग्रेस भिजेको बिरालोजस्तो भएर निरीह बसेको टिप्पणी गरे । कांग्रेस केही गर्नै नसक्ने अवस्थामा रहेको बताउँदै उनले ओली सरकारबिरुद्ध आन्दोलन गर्नका लागि आग्रह गर्दा कांग्रेसले दुई तिहाइ भएसम्म वर्तमान सरकारलाई केही गर्न नसक्ने बताएको उल्लेख गरे । 

पूर्व राजा ज्ञानेन्द्रलाईसमेत सडकबाटै फालिएको स्मरण गर्दै उनले भने, ‘ओली सरकारलाई संसद्बाट नभई सडकबाटै हटाउन सकिन्छ, ज्ञानेन्द्रलाई त हटायौँ, ज्ञानेन्द्र भन्दा त ओली कमजोर छन्, त्यसैले सडकबाटै ओलीलाई हटाउन सकिन्छ ।’ उनले ओली सरकारलाई हटाउन क्रान्तिकारी तथा देशभक्तहरुबीच कार्यगत एकता गरेर आन्दोलन गर्नुपर्ने खाँचोसमेत औँल्याए ।

अध्यक्ष गजुरेलले प्रचण्ड वा शेरबहादुरलाई प्रधानमन्त्री बनाउनका लागि ओली सरकारबिरुद्ध आन्दोलन गर्न नखोजिएको पनि स्पष्ट पारे । अबको आन्दोलन व्यवस्था परिवर्तन गर्दै संघीय जनगणतन्त्र ल्याउनका लागि हुने उनको भनाइ छ । 

अध्यक्ष गजुरेलले ओलीले शक्ति केन्द्रीकृत गरिरहेको आरोप लगाउँदै देशमा चाँडै निरंकुशता आउने बताए । सेना परिचालनमा एकलौटी निर्णय गर्ने अधिकार प्रधानमन्त्रीमा निहित गर्न खोज्नु त्यसैको उपज भएको उनको दाबी थियो ।

उनले संविधान विपरीत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको बताए । उनले भने, ‘यो सरासर गलत छ, कुनै पनि पार्टीलाई प्रतिबन्ध लगाउनै पाइँदैन, यस्तो प्रावधान संविधानमा कहिंकतै छैन ।’ ओलीलाई मन पर्ने सबै राम्रा मन नपर्ने सबै नराम्रा हुने गरेको उनको भनाइ थियो । 

अध्यक्ष गजुरेलले देश संघीयतामा गएपछि जन्मन र मर्न पनि डराउने दिन आएको टिप्पणी गरे । संघीयतामा विकृति आउँदा जनताले सास्ती र त्रसित हुनुपर्ने अवस्था आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्